भदौ–३१ । बालिका बलात्कार गरेको आरोपमा खोटाङका एक वृद्ध पक्राउ परेका छन् । स्थानीय एक १३ वर्षीया बालिकालाई मंगलबार बिहान जबरजस्ती करणी गरेको आरोपमा दिक्तेल नगरपालिका–२ का ६५ वर्षीय श्यामप्रसाद आचार्य पक्राउ परेका हुन् ।

बालिका बलात्कृत भएपछि आफन्तले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पीडित बालिकाले दिएको उजुरीको आधारमा पक्राउ गरिएका आचार्यलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।’

भैंसीलाई घाँस हाल्न गोठ जाँदै गर्दा उनले बाटो छेकेर आफूलाई जबरजस्ती बलात्कार गरेको पीडित बालिकाको भनाइ छ । उनी भन्छन्, ‘बिहानै भैंसीलाई घाँस हाल्न गएको थिए, कोही नभएको मौका छोपेर जबरजस्ती गरे ।’

बलात्कृत बालिकाको जिल्ला अस्पताल खोटाङमा सामान्य उपचारपछि आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।