भदौ–३१ । सगरमाथाको रोयल्टी खोटाङले पनि पाउनुपर्ने स्थानीय शान्ति समिति खोटाङले दावी गरेको छ । सद्भाव भ्रमणका लागि सोलुखुम्बु पुगेर फर्किएका स्थानीय शान्ति समितिको टोलीले मंगलबार पत्रकार सम्मेलन गरेर यस्तो दावी गरेको हो ।
शान्ति समितिले गरेका सिकाई उपलब्धी आदान–प्रदान गर्ने उद्देश्यले सोलुखुम्बु गएको भ्रमण टोलीले सोलुका सरोकारवालाहरुसँग पनि कुरा राखेको समितिका संयोजक जीवनकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘खोटाङ पनि सगरमाथा अञ्चलमा नै रहेकाले आफूहरुले यस्तो माग गरेका हौं ।’
श्रेष्ठका अनुसार सोलुखुम्बुबासीले पनि आफूहरुको मागमा सम्बन्धमा सकारात्मक धारणा राखेका छन् । सगरमाथाको रोयल्टी यस वर्ष मात्रै ३५ करोड ४० लाख रुपैयाँ संकलन भएको श्रोतले जनाएको छ ।
पाँच दिने शान्ति भ्रमणका लागि सोलु पुगेका टोलीले त्यहाँ रहँदा द्धन्द्ध न्युनिकरणका सोलुका शान्ति समितिले गरेका क्रियाकलापका बारेमा जानकारी लिने र आफूहरुले गरेका गतिविधिका बारेमा पनि जानकारी दिने काम भएको राप्रपा नेपालका जिल्ला अध्यक्ष समेत रहेका संयोजक श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘द्धन्द्ध न्युनिकरणका समस्या र समाधानका उपायहरुका साथै विकास निर्माणका बारेमा समेत हाम्रा लागि ठूलो सिकाई उपलब्धी भएको छ ।’
सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन राई सहित १४ सदस्यीय भ्रमण टोलीले पाँच दिने सोलु भ्रमण गरेको हो । भ्रमण टोलीले सोलुखुम्बुमा भएका विकास निर्माणका पूर्वाधारहरुको समेत अवलोकन गरेको थियो ।
भ्रमण टोलीले जिल्लाका राजनीतिक दलहरु विकास निर्माण प्रति स्पष्ट नरहेको निष्कर्ष निकालेको छ । भ्रमण टोलीमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष ललितकुमार राई ‘जीवन’ले भन्नुभयो, ‘विकास निर्माणप्रति स्पष्ट धारणा नभएकै कारण जिल्लाको विकासमा फड्को मार्न नसकिएको हो ।’
पत्रकार सम्मेलन तथा समीक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटा, समितिका पदाधिकारी, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरुले द्धन्द्ध न्युनिकरणका काम अझै बाँकी रहेको भन्दै गम्भिरता पूर्वक लाग्न समितिलाई सुझाब दिएका छन् ।
समितिले यसअघि रोल्पा भ्रमण गरेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष जीवनकुमार राई ‘ललित’ संयोजक रहेको बेलामा नेकपा माओवादीले जनयुद्ध शुरु गरेको रोल्पा भ्रमण गरेको हो ।