असोज–१ । बाबुलाई त दैव आफैले खोसेर लग्यो, बाँकी आमाले पनि जिउँदै टुहुरो बनाएर जानुभयो ।’ सानो एकतले खरले छाएको घरभित्र आफ्ना छ जना साना–साना भाइबहिनीसँँग बस्दै दुःख बाँड्दै आउनुभएकी १४ वर्षीया बालिका जुना राई कुनामा बसेर सुक्क–सुक्क रुँदै यसो भन्दै हुनुहुन्थ्यो ।
छ नाति/नातीनासहित लालबहादुर (बाँया) । तस्बिर: देवराज राई
|
त्यतिकैमा अगेना (आगो बाल्ने भित्री चुल्हो) छेउँ भोर्लाको पातमा सुर्ती बेर्दै गरेका ७३ वर्षीय जुनाका हजुरबा लालबहादुर राई गलामा चुहिन लागेको आँशु बोकी जस्केलीबाट बाहिरिनु भयो ।
यी दृष्य हुन्, वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका खोटाङ मौवाबोटे–५ का भीम भनिने ३२ वर्षीय होमबहादुर राईको मृत्यु भएपछि परिवारमा आएको बिचल्ली झल्काउने पीडादायी कथा । तीनवर्ष अघि रोजगारीका सिलसिलामा भीमकुमार ऋण काढेर बिदेशिएका थिए ।
विदेश गएको वर्षदिन बित्न नपाउँदै राईको मृत्यु भएपछि तीन नाति र तीन नातिनी लालनपालनको जिम्मेवारीले ७३ वर्षीय बृद्व हजुर’ बा (मृतकका बुबा) लालबहादुरलाई पिरोल्न थालेको छ । अरुभन्दा पनि परिवारका लागि बिहान–बेलुका हातमुख जोड्न चुल्होमा आगो नबल्ने पो होकी भन्ने समस्याले सताउने गरेको छ ।
अशक्त अवस्थका अजुरबासँगै भाइबहिनी हुर्काउने अविभारा जेठी छोरी जुनाको काँधमा आइपरेको छ । श्रीमानको मृत्युपछि घरमा एकल जीवन बिताइरहेकी जुनाकी आमा हिरा पनि गाउँका आफन्त पर्ने एक युवासँग विहे गरेर भागेपछि झनै समस्या परेको छ । जुना भन्नुहुन्छ, ‘बुबा नभपनि आमाको मुख हेरेरै दुःख पीडा भुलिरहेका थियौँ, आमा–बुबा दुवै गुमाउँदाको पीडा म कसलाई सुनाउ !’
सात सदस्यीय जहान परिवारलाई हातमुख जोड्नु नै अहिले मुख्य समस्या बनेको जुनाले बिलौना गर्नुभयो । उहाँका बुबा औपचारिक रुपमा ७ कक्षासम्म मात्रै अध्ययन गरेका भीम प्राविधिक सीपमा पोख्त भएकाले गाउँकै कमाइँले परिवारको सामान्य आर्थिक भार धान्दै आएका थिए ।
बदलिदो परिस्थती र घर परिवारको दैनिक गर्जो सहज रुपमा टार्न नसकिने भन्दै बिदेशमा केही कमाएर ल्याउँने सोचका साथ उनी बिदेशिएका थिए । उनका काकाका छोरा प्रेमबहादुर राईका अनुसार भीमले बाहिर जाँदा लिएर गएको साहुँको ऋण केही भुक्तानी गरिसकेका थिए भने केहीको बाँकी छ । विदेश जाँदा बीमा गरेको रकम प्राविधिक समस्या देखाउदै मेनपावरले अहिलेसम्म नदिएको परिवारले जनाएको छ ।
अहिले ऋण तिर्न बाँकी भएका साउले दिनदिनै घर धाउँने गरेको जुनाले दुखेसो पोख्नुभयो । बुबा, आमा एकैपटक गुमाएपछि कक्षा–८ मा पढ्दै गर्नुभएकी जुनाले बीचैमा विद्यालय छाड्नुभयो । जुना अध्ययनरत शिद्वेश्वरी प्राविका प्रधानाध्यापक बासुदेव आचार्यले भन्नुभयो, ‘आर्थिक समस्याकै कारण जुनासँगै अन्य भाइ बहिनीहरु पनि नियमित स्कुल आउँन सकेका छैनन् ।’
आफूलाई विद्यालय जान रहर भएपनि बाध्यताले रोकेको जुनाको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘कलम, कापी, पोषाक लगायतका सामग्री जुटाउन नसक्दा भाइबहिनीलाई पनि स्कुल पठाउन गाह्रो भएको छ ।’
उनीहरु अध्ययनरत विद्यालयका अनुसार सुदिप (१२), सुनिल (१०), मुना (९), निलिख (८) र पुजना (६) नियमित पठनपाठनबाट बञ्चित भएका छन् । थोरै जमिन । वर्षभरी उत्पादन भएको कमाइले पाँच महिना जसोतसो खान पुग्छ ।
दूधे भाइबहिनीको स्याहार गर्दै दिन बित्ने जुनाका बृद्व बाजे लालबहादुर अर्काको ज्यालादारी गरेर चुल्होका लागि सामान जुटाउने गर्छन् । उनी स्वयम् किशोरावस्थामा शिकार खेल्न जङ्गल जादा साथीले बोकेको बन्दुक पड्कदा घाइते भएका थिए ।
शारीरिक रुपमा अपाङ्ग लालबहादुरले भन्नुभयो, ‘निमुखा, गरिब–दुःखीकै पीडामा दैव पनि रमाउँदो रहेछ, उमेर अवस्थाका कारण आफू धेरै नरहे साना बालबालिकाको भविष्य ‘पानीमा झोसेको अगुल्ठो’ जस्तै हुँने हो !’
लालबहादुरको पीडादायी जीवन भोगाइमा थोरै भएपनि आर्थिक सहयोग प्राप्त भएको छ । पीडैपीडामा रुमल्लिएका लालबहादुरलाई जिल्ला प्रशासन कार्यालय खोटाङले नगद पाँच हजार रुपैयाँ सहयोग गरेको हो । प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले भन्नुभयो, ‘एउटा पाका उमेर भएका व्यक्तिले यत्तिका जिम्मेवारी सम्हालेको पाइयो, उसको अवस्था हेर्दा नाजुक देखिएकाले थोरै भएपनि सहयोग गरेका हौं ।’