असोज–४, खोटाङको सदरमुकाम दिक्तेलबासीले खानेपानीको समस्या झेल्दै आएको निक्कै वर्ष भयो । भर्खरै नगरपालिका बनाइएको दिक्तेल नगरबासीका लागि पानीको समस्या झनै जटिल बन्दै गएको छ ।
कहिले धारामा पानी नै नआउने त आइहाले पनि फोहोर तथा दुषित हुने पानी आउने गरेको उपभोक्ताको भनाइ छ । बढ्दो सहरीकरण तथा जनसंख्याको चापले दिक्तेल नगरपालिकाको लागि खानेपानी व्यवस्थापनमा चुनौति थपिएको हो ।
नजिकमा पर्याप्त मुहान नहुनु, समय–समयमा मुहान सरसफाईमा ध्यान नदिनु र उचित व्यवस्थापन नहुनु यसको प्रमुख कारण हो । उसैमाथि खानेपानीको व्यवस्थापन गर्ने जिम्मा पाएको उपभोक्ता समितिले उपभोक्ताबाट उल्टै चर्को शुल्क लिने गरेको गुनासो पनि आउने गरेको छ । उपभोक्ताहरु भन्छन्, ‘केही व्यक्तिका लागि तीन÷चारवटासम्म धारा बाँडिएको छ ।’
यस्तो अवस्थामा खानेपानी व्यवस्थापनको जिम्मा पाएको उपभोक्ता समितिको जिम्मेवारी निक्कै महत्वपूर्ण रहन्छ । तर, दिक्तेलको लागि १७ वर्ष अघि शुरु गरिएको खानेपानी योजना अलपत्र अवस्थामा छ । निक्कै महत्वकासाथ हेरिएको खानेपानी योजना ‘दिक्तेल बजार सुधार बिस्तार खानेपानी योजना’ हाल अलपत्र अवस्थामा छ ।
उक्त योजना केही व्यक्तिको कमाइ खाने भाँडो बनिरहेको राप्रपा नेपाल खोटाङका जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठको आरोप छ । श्रेष्ठले भन्नुभयो, ‘वार्षिकरुपमा बजेट बिनियोजन हुन्छ तर, काम भएको छैन, बिनियोजित बजेट क–कस्को गोजीमा जान्छ हेर्न बाँकी छ ।’
डेढ लाख लिटर पानी जम्मा हुने ट्याङकी थामखोरेडाँडामा निर्माण गरिएपनि शुचारु नभइ चुहिने अवस्थामा छ । झाडीभित्र अलपत्र अवस्थामा छाडिएको ट्याङकीदेखि हाटडाडाँसम्म जिआई पाईप बिछ्याइए पनि हाल अलपत्र अवस्थामा छ ।
अलपत्र अवस्थामा छाडिएको योजनाका लागि हालसम्म तीन करोड ७४ लाख बढि खर्च भइसकेको पाइएको अध्यक्ष श्रेष्ठको दावी छ । उहाँ भन्नुहुन्छ, ‘योजना निर्माणको जिम्मा पाएका केही व्यक्तिहरुले कामै नगरी बिलभर्पाई गर्ने गरेको पाएका छौं ।’
पटक–पटकको मुहान विवादका कारण योजना सम्पन्न गर्न नसकिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष जयप्रसाद आचार्यले बताउनुभयो । शुरुमा दिक्तेल र नेर्पाबीचमा पर्ने छेपेखोलामा निश्चित गरिएको मुहान नेर्पा र दिक्तेलबासीको विवाद भएपछि नेर्पाबासीले मुहान रोक्का गरेको अध्यक्ष आचार्यको भनाइ छ ।
पछिल्लो समय लोचा खोलाबाट पानी ल्याउने टुङ्गोका भएर काम थालिएको १७ वर्ष बित्न लाग्यो । यद्यपी पानीको मुहान सुक्दै जाने, चुहावट हुने तथा सडक निर्माणको क्रममा गाडिएको पाईप निकालिदिने समस्याले योजना प्रभावित भएको उपभोक्ता समितिको भनाइ छ ।
लोचा खोलामा पानी सुकेपछि पुनः छेपे खोलाकै मुहान प्रयोग गर्न तालखर्कबासीसँग सहमति भएपनि फेरि नेर्पाबासीले रोक लगाएको छ । मुहान टुङ्गो लगाउने कामको लामो पहलपछि डेढ वर्षपछि नेर्पाबासीसँग सोही छेपे खोलाकै मुहानमा सहमती भएपनि सोल्माबासीले मुहान प्रयोग गर्न नदिने अड्डी कसेका छन् ।
उनीहरुले कुनैपनि हालतमा मुहान दिन नसकिने भन्दै प्रशासन लगायतमा ज्ञापन–पत्र बुझाएपछि योजना सुचारु गर्न नसकिएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘जब नेर्पाली साथीहरुसँगो विवाद टुङ्गो लगाएर खुसीसाथ औजारसहित गिटी बालुवा लगायतका निर्माण सामाग्रीहरु मुहान पु¥याइयो, फेरि सोल्माली साथीहरुले रोक्नको लागि ज्ञापन बुझाए ।’ उहाँले थप्नुभयो, ‘अहिले पनि सोल्माली साथीहरुसँग मुहानको बारेमा सहमतिको प्रयास भइरहेको छ ।’
योजना सम्पन्न गर्न निर्माण उपभोक्ता समितिको पहल मात्रले सम्भव नहुने जनाउँदै सबै सरोकारवालाले चासो दिनुपर्ने समितिले आग्रह गरेको छ । उक्त योजना सफल भए तत्कालका लागि सदरमुकामबासीलाई राहत हुने समितिको ठम्याइ छ ।