असोज–५ । बहुला स्यालको टोकाइबाट खोटाङमा पुनः दुई जना घाइते भएका छन् । दोर्पाचिउरीडाँडा–१ की २३ वर्षीया बबिता राई र सोही वडाका ११ वर्षीय धिरण राई घाइते भएका हुन् ।

बहुलाएर जथाभावी टोक्दै हिँडेको स्यालले शनिबार राती उनीहरुलाई घरैमा टोकेको प्रहरीले जनाएको छ । स्यालको टोकाइबाट गम्भिर घाइते दुवै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

बहुला स्याललाई स्थानीयबासीले नियन्त्रणमा लिएर मारेको प्रहरीको भनाइ छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।

यसअघि पनि उक्त ठाउँमा साउन–१४ गते बहुलाएको स्यालले टोकेर पाँच जना घाइते भएका थिए । उनीहरुको जिल्ला अस्पतालमा उपचारपछि स्वास्थ्य अवस्था ठीक भएको पारिवारिक स्रोतले जनाएको छ ।

जिल्लामा महिनादिनअघिदेखि बहुला स्याल तथा कुकुरको बिगबिगी फैलिएको हो । यसलाई नियन्त्रण गर्न सम्बन्धित निकायले चासो नदिएको स्थानीयको आरोप छ ।