असोज ८ ।  बहुला कुकुर तथा स्यालको बिगबिगी बढेपछि जिल्लाका स्थानीयले पालेका कुकुर तथा बिरालोलाई रेबिजविरुद्धको भ्याक्सिन दिइएको छ ।

जिल्ला पशुसेवा कार्यालय खोटाङले विश्व रेबिज नियन्त्रण कार्यक्रम अन्तरगत सोमबार शिविरको आयोजना गरेर कुकुर तथा बिरालालाई रेबिजविरुद्धको भ्याक्सिन दिएको हो ।

सदरमुकाम दिक्तेलमा आयोजना गरिएको शिविरमा सोमबार मात्र दुई सय ८० कुकुर र छ वटा बिरालालाई रेबिजविरुद्धको भ्याक्सिन दिइएको जिल्ला पशु सेवा कार्यालय खोटाङका वरिष्ठ पशु विकास अधिकृत हरिप्रसाद खनालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जिल्लामा बहुला कुकुर तथा स्यालको बिगबिगी बढेकाले नियन्त्रणका लागि घरपालुवा कुकुर तथा बिरालोलाई रेबिजविरुद्धको भ्याक्सिन दिएका हौं ।’

जिल्लाको दक्षिणी क्षेत्रका लागि खोटाङबजार र उत्तरी क्षेत्रका लागि हलेसीमा पनि शिविर सञ्चालन गरिएको अधिकृत खनालले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार सबै कुकुर तथा बिरालोलाई भ्याक्सिन दिने काम नसकिएकाले मंगलबार पनि शिविर सञ्चालन गर्ने तयारी गरिएको छ ।

शिविरमा नगरपालिका तथा छिमेकी गाविस नेर्पा, दोर्पा, रतन्छा, याम्खा, टेम्मा, नुनथला लगायतका स्थानीयले पालेका कुकुर तथा बिरालो ल्याएका थिए । अझै टाढा–टाढाका स्थानीयबासीले पालेका कुकुर तथा बिरालालाई शिविरमा ल्याउन नसकेकाले उनीहरुकै आग्रहमा मंगलबार पनि शिविर सञ्चालन गर्ने तयारी गरिएको खनालको भनाइ छ ।
जिल्लामा बहुला कुकुर तथा स्यालले हालसम्म दुई दर्जनबढि मानिस तथा पशुचौपायालाई टोकीसकेका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

बहुला कुकुरको बिगबिगी बढेपछि दिक्तेल नगरपालिकाले नगरभित्रका भुस्याहा कुकुर मार्ने लिखित निर्णय गरेपनि हालसम्म कार्यान्वयन भएको छैन । बहुला कुकुरले नगरबासीलाई नै टोकेपछि सर्वपक्षीय बैठकको आयोजना गरेर नगरभित्रका भुस्याहा कुकुर मार्ने लिखित निर्णय गरेको थियो ।

जिल्लाका अन्य क्षेत्रमा पनि बहुला कुकुर तथा स्यालको आतंक फैलिएको स्यानीयको भनाइ छ । यसलाई नियन्त्रका लागि सम्बन्धित निकायले चासो नदिएको पीडित परिवारको गुनासो छ ।