असोज ८ ।  रोजगारीका सिलसिलामा मलेसिया पुगेका नेपालीले आउँदो तिहारको अवसरमा देउसी तथा दिपावली कार्यक्रम गर्ने तयारी गरेको छ । कामका कारण घर आउन नपाएका नेपालीले एक आपसमा भेला भएर मलेसियामै देउसी तथा दिपावली कार्यक्रम गर्ने तयारी गरेको हो ।

झण्डै आठ लाख नेपालीको बसोबास रहेको मलेसियामा नेपाल अदिबासी जनजाती महासंघको अगुवाइमा देउसी तथा दिपावली गर्ने तयारी भएको खोटाङ नुनथला घर भइ हाल मलेसियामा रहेका चिसाङ शेर्पाले जानकारी दिनुभयो । यसका लागि क्वालालम्पुरमा बसेको महासंघको बैठकले आगामी तिहारको अवसरमा नेपालीबीचमा भव्यताकासाथ देउसी तथा दिपावली कार्यक्रम गर्ने निर्णय गरेको छ ।

भाग्यशाली उपहार योजना सहित महासंघले गत वर्षजस्तै दिपावली साँझलाई भव्यताकासाथ मनाउने तयारी गरेको महासंघका अध्यक्ष सुन्दर आलेमगरले बताउनुभयो । रोजगारीको प्रमुख गन्तव्यस्थल बनेको मलेसिया बिभिन्न चाडपर्वको समयमा नेपालीले आयोजना गर्ने बिभिन्न कार्यक्रमका कारण नेपालकै झल्को दिनेगरी रङ्गीचङ्गी र सजिसजाउ बन्ने गर्दछ ।