असोज ८ । सुत्केरी व्याथाले थलिएको चार दिन भइसकेको थियो । त्यसमाथि अत्यधिक रक्तश्राव । अस्पताल लैजाउँ, साथमा खर्च छैन । घरैमा राखौं, ज्यानै जाने खतरा ।
खोटाङको राजापानी–६ का राजन खत्रीमाथि आइलागेको यस्तो कहाली लाग्दो बज्रपात हो यो । प्रशव पीडा र अत्यधिक रक्तस्रावका कारण ओछ्यानमा छटपटाइरहेकी श्रीमतीलाई छेउमा बसेर टुलुटुलु हेर्नु सिवाय अन्य विकल्प केही थिएन खत्रीसँग । तर, ‘केही नहुनेलाई दैवले पनि हेर्छन्’ भनेझैँ भयो खत्रीलाई ।
राजधानीमा बसोबास गरिरहेका खाम्तेल (राजापानी) बासीको पहलमा संकलन भएको रकमबाट मृत्युसँग लडिरहेकी खत्रीकी २२ वर्षीया सुत्केरी श्रीमती यमुना खत्रीको ज्यान जोगिएको छ । ‘सुत्केरी बचाउ’ अभियानबाट संकलन भएको रकमबाट शिक्षण अस्पताल पु¥याएर शल्यक्रिया गरी यमुनाको पेटभित्रको मृत बच्चालाई निकालेपछि यमुनाको ज्यान बचेको हो ।
अधिक रक्तश्रावका कारण यमुनाको पाठेघर, फोक्सो र मृगौलामा जटिल समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरुको भनाइ छ । अस्पताल लैजानु अघि यमुनालाई घरमा धामी झाँक्री गर्दै राखिएको थियो ।
आर्थिक समस्याका कारण यमुनालाई सुविधा सम्पन्न अस्पतालमा लैजान र उपचार गराउन नसकिएको खबर काठमाडौंमा केडिया अर्गनाइजेशनमा कार्यरत तथा व्यवसाय गरिरहेका खाम्तेलका हेमराज कार्कीले आफन्तमार्फत पाउनुभयो । हलेसी डेकोर चाबहिलका सञ्चालक समेत रहेका कार्कीले साझेदारीमा तुरुन्त हेलिकोप्टर चार्टर गर्ने व्यवस्था मिलाउनुभयो र बिरामीलाई काठमाडौं झिकाउनुभयो ।
५५ हजार भाडा तिरेर यमुनालाई साउन–२७ गते काठमाडौंको शिक्षण अस्पताल पु¥याएर एसआइसियूमा राखेर उपचार सुरु गरियो । कार्कीले भन्नुभयो, ‘दिक्तेलमा सुत्केरी नबाँच्ने बताइएपछि मेरै रिस्कमा काठ्माडौं झिकाइयो, सम्भव भएसम्मको उपचार गराउनु थियो, बिरामीलाई बचाउनु थियो, अन्तत ः सफल पनि भयौँ ।’
अस्पतालमा यमुनाको उपचार भइरहँदा हेमराज, खाम्तेल विकास मञ्चका उपाध्यक्ष भागवत आचार्य लगायतको पहलमा उपचारका लागि संस्थागत र व्यक्तिगत सहयोग जुटाउने अभियानलाई पनि थप तिव्र बनाइयो । अस्पतालसम्म लैजाने पैसा नभएकै कारण ज्यान जान लागेको सुत्केरी बचाउका लागि भनेर नेपाल बाहेक अष्ट्रेलिया, मलेसिया, साउदीअरव लगायतका देशमा पुगेका खोटाङबासीबाट समेत सहयोग जुट्यो ।
आमाबुबा, श्रीमती अञ्जु कटवाल, हलेसी डेकोर परिवार र भागवत आचार्यको सहयोगमा अभियान थालेका हेमराजलाई अष्ट्रेलियामा रहेका भतिजा दिपक कार्की, मलेसियामा रहेका भतिजा मिलन कार्की, साउदीअरबमा रहेका भतिजा राजन कार्की समेतको साथ मिल्यो ।
खाम्तेलबासीको सामुहिक अभियानकै कारण जम्मा भएको रकमबाट सुत्केरी यमुनालाई मृत्युको मुखबाट फर्काउन सफल भएको हेमराजको भनाइ छ । अस्पतालले साउन–२८ गते यमुनाको पेटबाट मृत शिशु निकालेको थियो । हेमराजले भन्नुभयो, ‘मर्न लागेकी सुत्केरीलाई हामी सबैको सामुहिक प्रयासबाट बचाउन सफल भयौँ, चाहने हो भने दुई चारजना मिले पनि गतिलो काम गर्न सकिने रहेछ ।’
सुत्केरी हुनुअघि अधिक रक्तस्राव भएपछि स्वास्थ्यचौकी हुँदै जिल्ला अस्पताल दिक्तेलमा पु¥याइएकी यमुनाको उपचार नभएपछि राजधानी काठमाडौं पु¥याउने चाँजोपाँजो मिलाइएको उनीहरुले जनाएका छन् । गाउँबाट साउन–२६ गते दिक्तेल पु¥याइएकी यमुनालाई पेटको बच्चा मरिसकेको र शरीरमा रगत सकिसकेको भन्दै जिल्ला अस्पतालले अन्यत्र रेफर गरेको थियो ।
‘गरिबीकै कारण सुत्केरी महिलाले अकालमा ज्यान गुमाउन नपरोस्’ भनेर चलाइएको चन्दा अभियानबाट युमनाको उपचारका लागि एक लाख ७८ हजार पाँच सय ११ रुपैयाँ खर्च जुट्यो । उपचार, बसाई, खानपान लगायतमा एक लाख ६३ हजार नौं सय ५६ रुपैयाँ खर्च भयो भने १४ हजार पाँच सय ५५ रुपैयाँ बचत भएको छ ।
२५ दिनसम्म उपचार गराउनुभएकी यमुनालाई पारिवारिक स्थिति बुझेर शिक्षण अस्पतालले स्वास्थ्य परीक्षण र उपचारमा चार लाख बढि छुट दियो । उपचारकाक्रममा यमुनाले खोटाङकी डा. निता केसीको पनि साथ पाउनुभएको थियो । निको भएर अस्पतालबाट ‘डिस्चार्ज’ भएकी यमुनालाई घरबाट दिक्तेल, दिक्तेलबाट काठमाडौं र काठमाडौंबाट पुनः दिक्तेल पठाउने क्रममा खत्री परिवारको कुनै खर्च भएन । निको भएर घर पुग्नुभएकी यमुनाले फोनमा भन्नुभयो, ‘यस्तो विपत्ती पार लगाउने हाम्रो आर्थिक क्षमता थिएन,’ उहाँहरुको सहयोगमा मैले पुनर्जन्म पाएकी छु ।’
राजन र यमुनाको काखमा ११ महिनाको छोरी छन् । आर्थिक अवस्था कमजोर भएकै कारण कैयौं सुत्केरी आमाले अकालमा ज्यान गुमाउनु परेको उदाहरण हाम्रै वरपर प्रशस्त छन् । चन्दा उठाएर होस् या ऋणपान गरेर भएपनि उनीहरुको ज्यान बचाउनेतर्फ भने कमैको ध्यान जान्छ । तर, खाम्तेलबासीले चन्दा उठाएर एउटा सुत्केरी महिलाको ज्यान मात्र जोगाएनन्, मानवीय हिसाबले सहयोग गर्न चाहने हो भने दुर्गम ठाउँका गरिब सुत्केरी महिलाको ज्यान जोगाउन सकिने गतिलो उदाहरण पेश गरेका छन् ।
खाम्तेलबासीको उदाहरणीय कामको सिको गर्न सके निम्न आर्थिकस्तर भएका बिरामीले उपचारको अभावमा अकालमा ज्यान गुमाउनुपर्ने जोखिम कम हुने खोटाङका सभाषद विशाल भट्टराईले बताउनुभयो । भट्टराईले भन्नुभयो, ‘अस्पताल पुग्न पनि ऋणपान गर्नुपर्ने गाउँघरको साझा समस्या हो, खोटाङजस्तो दुर्गम ठाउँमा यस्तो सहकार्यको सिको गर्नु जरुरी छ ।’