कांग्रेस–एमाले लगायत दलहरु दुई तिहाई बहुमतको आधारमा केही बुदा थपेर पुरानै संविधान जारी गर्ने खेलमा लागेको भन्दै दशै÷तिहार लगत्तै जनसंघर्षको कार्यक्रम गर्ने बताएका छन् । हरेक उपलब्धी मागेर नभइ लडेर प्राप्त गरेको इतिहास स्मरण गर्दै मार्चाका केन्द्रीय प्रतिनिधि तथा कार्यक्रमका प्रमुख अतिथि सनबहादुर राईले यसका लागि गाउँगाउँबाट दवाव मूलक जनसंघर्ष गर्ने बताउनुभयो । संघीय समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत रहनुभएका राईले सम्बोधन गर्दै भन्नुभयो, ‘यदि हाम्रो मागका विषयमा बेवास्ता गरिए जस्तोसुकै आन्दोलन गर्न पनि मोर्चा पछिपर्ने छैन, जबरजस्ती पहिचान बिनाको संविधान जारी गरिए मोर्चाले भोलीपल्टै सडकमा जलाएर सडकबाटै जनपक्षीय संविधान जारी गर्नेछ ।’
‘संघीय गणतान्त्रिक मोर्चाको आवश्यकता, संघीयता र पहिचानसहितको संविधान निर्माणमा हाम्रो भूमिका’ भन्ने नाराका साथ आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा संघीय समाजवादी पार्टीका केन्द्रीय सदस्य देबराज राई, एकीकृत नेकपा माओवादी खोटाङका सचिव तथा पूर्व सभाषद दुर्गाजयन्ती राई, संघीय समाजवादी पार्टीका जिल्ला अध्यक्ष सुर्यबहादुर राई, भातृ संघसंगठनका प्रमुख लगायतले आ–आफ्नो धारणा राखेका थिए । जिल्ला विकास समितिको समीक्षालय हलमा भएको अन्तरक्रिया कार्यक्रममा सहभागी जातीय संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले समेत मोर्चाको आन्दोलनमा ऐकेवद्धता जनाएका छन् । कार्यक्रममा किरात राई यायोख्खाका अध्यक्ष प्रश्नराज राई, तामाङ घेदुङका पृथी जिम्बा, नेपाल मगर संघका सचिव भक्तबहादुर मगर, नेवा खलः खोटाङका अध्यक्ष हरि राजभण्डारी, तमुः छोजधीँका सचिव मोहन गुरुङ लगायतले मोर्चाको आन्दोलनप्रति ऐकेवद्धता जनाएका हुन् ।
पहिचान पक्षधर दलहरु एकीकृत नेकपा माओवादी र संघीय समाजवादी पार्टीका प्रमुख तथा प्रतिनिधि सम्मिलित मोर्चाले पहिचान, संघीयता र राज्यको पुर्नसंरचना विषयक अन्तरक्रिया, गोष्ठी, आमसभा लगायतका दवावमूलक कार्यक्रम गर्ने जनाइएको छ । पहिलो चरणमा हुने आन्दोलन शान्तिपूर्ण हुने मोर्चाका जिल्ला संयोजक तथा एकीकृत नेकपा माओवादीका जिल्ला अध्यक्ष देवान किराती ‘पृथ्वी’ले जानकारी दिनुभएको छ ।