असोज–९, कोष तथा लेखा नियन्त्रक कार्यालय खोटाङको नयाँ भवन शिलान्यास भएको छ । घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको कोलेनिकाको नयाँ भवन बिहीबार शिलान्यास गरिएको हो ।  
दिक्तेल नगरपालिका–९ मा निर्माण गर्न लागिएको भवन प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले एक कार्यक्रमकाबीच शिलान्यास गर्नुभएको छ । आठ आना जग्गामा निर्माण गर्न लागिएको भवन १४ कोठा भएको तीन तले हुने कोलेनिकाका सह–लेखापाल सोमप्रसाद आचार्यले जानकारी दिनुभयो । 
एक करोड ६२ लाख १५ हजार चार सय ४६ रुपैयाँ ७२ पैसामा निर्माण गरिने भवन २०७२ साल मंसिर–१२ गतेभित्र सम्पन्न गर्नुपर्ने छ । दुई करोड १९ लाख तीन हजार चार सय १५ रुपैयाँ ८८ पैसामा टेण्डर आव्हान भएकोमा २५ दशमलव ९७ प्रतिशतले घटेर श्रीजयन्ती÷एडी÷जगदम्बा जेभी बौद–६ काठमाडौंले निर्माणको जिम्मा पाएको छ । 
वर्षदिन भित्र निर्माण सक्नुपर्ने भवनका लागि ठेकेदार कम्पनी र कार्यालयबीच गत भदौ–१३ गते सम्झौता भएको थियो । दुई पक्षबीच भएको सम्झौतामा भनिएको छ, ‘दैवीप्रकोप तथा काबुबाहिरको परिस्थिति बाहेक तोकिएको समयमा काम सम्पन्न नभए सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ अनुसार हर्जना लाग्नेछ ।’
कार्यालयका लागि दिक्तेल नगरपालिका–९ का चन्द्रबहादुर कार्कीले करिब ३२ लाख बराबरको आठ आना जग्गा निशुल्क दिनुभएको हो । जिल्ला विकास समितिमा नायव सुब्बा पदमा कार्यरत कार्कीले वर्षदिनअघि मालपोत कार्यालयमार्फत कार्यालयको नाममा रजिष्ट्रेसन पास गरीदिनुभएको थियो ।