खोटाङ, असोज । मलेसियामा ज्यान गुमाएका खोटाङका एक मृतक परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ । केही समयअघि मलेसियामा ज्यान गुमाएका मौवाबोटे–५ दाप्साका ३२ वर्षीय होमबहादुर राई ‘भीमकुमार’को परिवारलाई मलेसियामै कार्यरत खोटाङ नुनथलाका चिसाङ शेर्पाले आर्थिक सहयोग गर्नुभएको हो ।

 रोजगारीका सिलसिलामा मलेसिया पुगेका राईको मृत्यु भएपछि बिचल्नीमा परेका ७ जनाको परिवारको सहयोगकालागि शेर्पाले नगद ५ हजार १४२ रुपैयाँ सहयोग रकम पठाउनुभएको छ । होमबहादुरको मृत्यु भएपछि अलपत्र बनेका ७३ वर्षीय बुवा लालबहादुर राई, १४ वर्षीया छोरी जुना, १२ वर्षीय छोरा सुदिप, १० वर्षीय छोरा सुनिल, ९ वर्षीय छोरी मुना, ८ वर्षीय छोरा निलिख र ६ वर्षीया छोरी पुजना राईको सहयोगकालागि शेर्पाले नेपाल पत्रकार महासंघ शाखा खोटाङका अध्यक्ष दमन राईको नाममा रकम पठाउनुभएको छ । शेर्पाले आईतबार आइएमइमार्फत पठाएको सहयोग रकम मृतक परिवारलाई औपचारिक कार्यक्रममार्फत हस्तान्तरण गरिने महासंघ शाखाले जनाएको छ ।

तीन वर्षअघि मलेसिया पुगेका होमबहादुरको मृत्यु भएको केही समयपछि श्रीमती हिराले पनि छाडेर दोश्रो बिहे गरेर गएपछि परिवारका ७ जनाको विचल्नी भएको हो । धन कमाउने सपनामा बिदेश गएका एक्लो छोरो होमबहादुरको मृत्यु भएपछि लट्ठीको भरमा उभिने लालबहादुरले ६ जना नाती नातिनीको लालनपालन गर्दैआउनु भएको छ ।

होमबहादुरको मलेसियामा मृत्यु भएपछि उहाँका ६ जना बालबच्चाले बिद्यालय छाडिसकेका छन् ।