सम्पतीको नाममा फुसले छाएको दुई तले घर बाहेक केही नभएका उनको बुधबार घरै जलेर ध्वस्त भएपछि बिचल्ली भएको हो । घर पछाडि रहेको बारुला काढ्नेक्रममा उनको घर जलेको प्रहरीले जनाएको छ । फुसले छाएको घर पछाडिको पालीमा रहेको बारुला काढ्नेक्रममा सल्किएको आगोले उनको घर तथा घरमा भएका सम्पूर्ण सामाग्री जलेको प्रहरीको भनाइ छ ।
प्रहरीको सर्जमिन अनुसार उनको घर तथा घरमा भएका सम्पूर्ण सामाग्री जल्दा दुई लाख ६० हजार बराबरको क्षति भएको छ । घर जल्दा नगद दुई हजार साथै लत्ताकपडा, अन्नपात, काठपात लगायत जलेर नष्ट भएको छ ।
घर जलेर ध्वस्त भएपछि बिचल्लीमा परेका मनीकुमार एक नातिनी र एक नातीलाई साथमा लिएर छिमेकीकामा आश्रय लिएर बस्न बाध्य भएका छन् । दुई वर्षदेखि दश वर्षकी नातिनी रोस्नी र सात वर्षका नाती रोनाल्डोको हेरचाह गर्दै आएका मनीकुमारको बुधबार घरै जलेपछि बिचल्ली भएको स्थानीय प्रमिला राईले जानकारी दिनुभयो ।
आम्दानीको स्रोत केही नभएपछि वृद्ध भत्ता बापत आएको रकमले गर्जो टार्दै आएकोमा घरै जलेपछि आफूहरुको बिचल्ली भएको मनिकुमारको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘दैव पनि गरीबमाथि नै आइ लाग्दो रहेछ ! सम्पत्तीको नाममा एउटा घर थियो, त्यो पनि जलेर खरानी भयो ।’
स्थानीयका अनुसार उनका नातिनी कक्षा–४ मा र नाती कक्षा–१ मा अध्ययनरत छन् । तीन वर्षअघि बुबा कुलप्रसाद राईको ज्यान गएपछि आमा र हजुरबुबाको साथमा बस्दै आएका रोस्नी र रोनाल्डो आमा पनि स्थानीय एक युवासँग विवाह गरेर गएपछि वृद्ध हजुरबुबाको साथमा बस्न बाध्य भएका हुन् ।