असोज २४ । उपचारका लागि अस्पताल आएका बिरामीलाई शैंया अभावमा भुइँमा राखेर उपचार गर्दा उल्टै थप बिरामी हुन थालेका छन् ।
१५ शैंयाको जिल्ला अस्पताल खोटाङमा बिरामीको अत्यधिक चाप बढेपछि अहिले दैनिक पाँच÷छ जना बिरामीलाई भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता छ । यतिमात्र नभइ कतिपय बिरामीहरु अस्पतालमा शैंया अभाव भएपछि नजिकको होटलमा कोठा लिएर उपचार गराइरहेका छन् ।
घरमा सामान्य ज्वरो आएपछि उपचारका लागि अस्पताल आएका खाल्ले–४ का पदमबहादुर कटवालले भन्नुभयो, ‘पहिले त सामान्य ज्वरो मात्र आउँथ्यो, उपचारका लागि अस्पताल आएपछि चिसोका कारण ग्याँस्टीक समेत शुरु भएको छ ।’ चिसो भुइँमा सुतेर उपचार गराइरहेका कटवालले थप्नुभयो, ‘चार दिन भयो अस्पताल आएको, अहिले त पिसाबबाट पिप समेत जान थालेको छ ।’
शैंया अभावमा भुइँमा राखेर उपचार गर्दा बिरामीहरुमा उल्टै थप समस्या देखिन थालेपछि झनै समस्या थपिएको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको भनाइ छ । उनीहरु भन्छन्, ‘त्यसै त बिरामी, झनै चार÷पाँच दिनसम्म चिसो भुइँमा सुत्दा कस्तो हलात हुन्छ होला ! यसप्रति राज्यको ध्यान जान जरुरी छ ।’
मौषम परिवर्तनसँगै झाडापखाला, निमोनिया, टाईफाईड, रुघाखोकी लगायतका बिरामी बढेको अस्पतालका प्रमुख डाक्टर नवलकिशोर झाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाल दैनिक दुई सयको हाराहारीमा बिरामीहरु उपचारका लागि अस्पताल आउने गरेका छन् ।’ उहाँले थप्नुभयो, ‘प्रत्येक दिन ३०÷३५ जना वेड भर्ना गरेर उपचार गर्नुपर्ने बिरामी आउने गरेका छन् ।’
अस्पतालको समस्याका बारेमा प्रत्येक जिल्ला परिषद्मा शैंया थप्ने विषयमा कुरा उठेपनि हालसम्म कार्यान्वयन भने भएको छैन । यसमा जिल्लाका राजनीतिक दल तथा सरोकारवाला निकायले चासो नदिएको सेवाग्राहीको आरोप छ ।
अस्पतालमा उपचारका लागि आएका अकिांश बिरामीलाई दक्ष जनशक्ति र भौतिक सामाग्री अभावमा अस्पतालले बाध्य अन्यत्र रेफर गर्ने गरेको राप्रपा नेपालका जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सामान्य किसिमका बिरामीलाई समेत अस्पतालले अन्यत्र रेफर गर्दा सर्वसाधारणको लाखौं रुपैयाँ खर्च हुने गरेको छ, यसमा राज्यले समेत चासो दिएको छैन ।’
जिल्लाबासीको समस्याका बारेमा स्वास्थ्य मन्त्रालयमा डेलीगेशन गएर स्तरोन्तीका लागि पहल गरिदिन पटक–पटक आग्रह गरेको एमालेका सभाषद् विशाल भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस पटक मन्त्रीज्यूले सकारात्मक प्रतिक्रिया दिनुभएको छ ।’
यसबारे स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले अस्पतालको समस्या समाधानका लागि तत्काल पहल गर्ने बताउनुभएको छ । टेलिफोनमा गरिएको संक्षिप्त कुराकानीका क्रममा उहाँले भन्नुभयो, ‘१५ शैंयाको जिल्ला अस्पताललाई ५० शैंया बनाउने प्रयत्नमा लागेको छु ।’
२०४८ मा स्थापना भएको जिल्ला अस्पतालका भौतिक संरचना समेत जीर्न बन्दै गएको छ । पुनर्मर्मतको अभावमा अस्पतालका भवन तथा शौचालयहरु काम नलाग्ने बनिसकेका छन् ।
अस्पताल भर्ना भएर उपचार गराइरहेका बिरामीहरु नजिकैको होटलमा गएर दिसपिसाब गर्ने गरेका छन् । उनीहरु भन्छन्, ‘चर्पीमा पानी छैन, पुरै दुर्गन्धित छ, कसरी दिसापिसाब गर्नु !’