खोटाङ यातायात व्यवसायी संघका अनुसार सदरमुकाम दिक्तेलदेखि दिउँसो दुई बजे र रेग्मीटारबाट बिहान छ बजे बस छुटाउने गरिएकोछ । हिउँद लागेसँगै वर्षाका पानीले बनाएको खाल्डाखुल्डी पुरेर बिहीबारबाट नियमितरुपमा बस सञ्चालनमा ल्याइएको संघका अध्यक्ष गणेबहादुर शाहीले बताउनुभयो ।
तराईका जिल्ला प्रवेश गर्ने सबैभन्दा छोटो बाटोको रुपमा रहेको उक्त सडकमा बस सञ्चालन भएपछि यात्रुहरु सोही मार्ग प्रयोग गर्न थालेका छन् । उक्त मार्ग भएर गाईघाट हुँदै तराईका विभिन्न जिल्ला जाने गरिन्छ ।
अध्यक्ष शाहीका अनुसार केहीदिनमै भण्डारेघाट–रसुवाघाट–लिच्कीराम्चे हुँदै सिम्पानीबजारसम्म पनि बस सञ्चालन गर्ने तयारी गरिएको छ । भौगोलिक रुपमा पछाडि परेका दक्षिणी क्षेत्रका स्थानीयबासीको समस्यालाई मध्यनजर गरेर असोजभित्रै सिम्पानीबजारसम्म बस सञ्चालन गर्न यातायात व्यवसायीलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसका लागि बिग्रीएको सडक मर्मत गर्न सशस्त्र र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ ।’
संघका सचिव रामकुमार हिङ्माङका अनुसार दिक्तेल–चखेवाभञ्ज्याङ, दिक्तेल–लामीडाँडा र दिक्तेल–जालपाका लागि पनि बस सञचालन गर्ने तयारी गरिएको छ । एक नगरपालिका र ७२ गाविस रहेको खोटाङ जिल्लाका सबैजसो गाविसमा सडक पुगेको छ ।