असोज–२७ । जिल्ला प्रशासन कार्यालय खोटाङमा नागरिकता र राहदानी लिनेको संख्यामा एक्कासी वृद्धि भएको छ । दशै मान्न घर आएका र विदेश जाने युवायुवतीको संख्या बढेपछि प्रशासनमा नागरिकता तथा राहदानी लिनेको संख्यामा वृद्धि भएको हो ।

प्रशासनका अनुसार दैनिक दुई सयको हाराहारीमा नागरिकता र डेढ सयको हाराहारीमा राहदानी फाराम बितरण गर्ने गरिएको छ । यसमा धेरैजसो प्रतिलिपी लिन आउने छन् ।
द्वन्द्वको समयमा ध्वस्त जिल्ला प्रशासनमा २०६२ साल अघि बनाइएका नागरिकता तथा राहदानीको तथ्याङ्क नभएका कारण सेवाग्राहीको भीड लागेको सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन राईले बताउनुभयो । उहाँले भन्नुभयो,–‘सेवाग्राहीको भीडका कारण हस्ताक्षर गर्नमै भ्याइनभ्याइ भएको छ ।’

प्रशासनका अनुसार आइतबार मात्रै दुई २० जनालाई नेपाली नागरिकताको प्रमाण–पत्र प्रदान गरिएको छ भने, एक सय ५० जनालाई राहदानीको सिफारिस दिइएको छ । समय अभावका कारण कतिपय दिनभर लाइनमा बसेर त्यसै फर्किएका छन् ।  

भौगोलिक बिकटताका कारण दुर्गम क्षेत्रका नागरिक नागरिकता बनाउनकै लागि दुई दिनसम्म पैदल हिडेर सदरमुकाम आउने गरेका छन् । जिल्लाको उत्तरी क्षेत्रका दर्जनबढि गाविसका स्थानीयलाई सदरमुकाम आउन दुई दिन पैदल हिँड्नुपर्छ ।

सानोतिनो कामका लागि समेत दुई दिन लगाएर सदरमुकाम धाउनुपर्ने भएपछि उत्तरी क्षेत्रका स्थानीयबासीले ऐसेखर्कमा इलाका प्रशासन स्थापनाको माग गर्दै पटक–पटक ज्ञापन बुझाएका छन् । यसमा सरोकारवाला निकायले कुनै चासो दिएको छैन ।
उता, इलाका प्रशासन कार्यालय खोटाङबजारमा समेत दैनिक २० देखि २५ जनाले नागरिकता लिने गरेका छन् । लामो समयसम्म बन्द रहेको इलाका प्रशासन कार्यालय केही छ महिनाअघि सञ्चालनमा आएपछि दक्षिणी क्षेत्रका सेवाग्राहीलाई केही सहज भएको छ ।