असोज–२७ । ईलाका प्रशासन कार्यालय खोटाङबजारमा सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र स्थापना गरिएको छ । वैदेशिक रोजगारलाई सुरक्षित र उपलब्धीमूलक बनाउन सहयोग पु¥याउने उद्देश्यले केन्द्र स्थापना गरिएको हो ।
विगत तीन वर्षदेखि जिल्लामा काम गर्दै आएको सुरक्षित आप्रवासन परियोजना (सामी) ले दक्षिणी क्षेत्रका सर्वसाधारणलाई लक्षित गरेर खोटाङबजारमा केन्द्र स्थापना गरेको सामीका कार्यक्रम संयोजक नविन्द्र राईले जानकारी दिनुभयोे । राईका अनुसार केन्द्रले वैदेशिक रोजगारमा जाने निर्णय गरिसकेका सम्भावित आप्रवासीहरुलाई सुरक्षित वैदेशिक रोजगार सम्बन्धी निशूल्क परामर्श सेवा, ठगीका घटनाहरुमा कानूनी सहयोग साथै निशूल्क सीप तालिम प्रदान गर्ने छ ।
ईलाका प्रशासनमा एमआरपी सम्बन्धी काम गर्न थालिएको र वेदेशिक रोजगारमा जाने सेवाग्राहीहरु आउन थालेकाले सूचना केन्द्र स्थापना गरिएको सामीले जनाएको छ । उक्त ईलाका प्रशासन कार्यालयबाट दैनिक सरदर १० देखी १५ जनाले एमआरपी अर्थात मेशिन रिडेबल पासवर्डको लागि सिफारिस लिने गरेको इलाका प्रशासन कार्यालयको प्रमूख दिगम्बर यादवले जानकारी दिनुभयो ।
जिल्लाबाट वैदेशिक रोजगारमा जानेहरुको संख्या वृद्धि हुँदै गएको छ । गत दुई वर्ष अगाडी वैधानिक रुपमा श्रम स्वीकृति लिइ कामका लागि विदेश जानेहरुकोे संख्या चार हजार सात सय ५६ जना थिए भने, गत आर्थिक वर्षमा सात हजार तीन सय चार जनाले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिइ वैदेशिक रोजागारमा गएको तथ्यांक छ ।
गाविस सचिव गोविन्द पराजुलीको सभापतित्वमा आइतबार भएको एक कार्यक्रमकावीच प्रमुख अतिथि तथा सभाषद् विशाल भट्टराईले केन्द्रको उद्घाटन गर्नुभएको सामीले जनाएको छ । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधी, इलाका प्रशासन कार्यालयका प्रमूख, विषयगत कार्यालयका प्रमूखहरु लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा सहभागीहरुले कार्यक्रमलाई सफल पार्न आ–आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने पतिवद्धता जनाएका छन् ।