असोज–२९, खोटाङ र ओखलढुङ्गा जोड्ने दुधकोसी नदीको पुल जीर्ण बनेपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता सृजना भएको छ । दुई जिल्ला जोड्ने उक्त पुल समयमा मर्मत नहुँदा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता सृजना भएको हो ।

पक्की पुल निर्माणको काममा ढिलाइ भएपछि जिल्ला भित्र्याइने सम्पूर्ण सामान सोही पुलमार्फत भरियालाई बोकाएर तार्नु पर्दा समस्या भएको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष खुसनारायण सैंजूले बताउनुभयो । जीर्ण बनेको पुलमार्फत सामान बोकेर तार्नुपर्दा ज्यानै माया मारेर हिड्नुपर्ने भरियाहरुको भनाइ छ ।

उदयपुरको कटारी हुँदै जिल्ला भित्र्याइने सामान ढुवानी गर्न वर्षौंदेखि सोही पुल प्रयोग गरिन्छ । ३० वर्षअघि निर्माण गरिएको उक्त पुल अहिलेसम्म मर्मत नहुँदा जीर्ण बनेको जयरामघाटका व्यापारी उदय राईले बताउनुभयो । राई भन्नुहुन्छ, ‘उक्त पुलको दर्जनांै नटबोल्टहरु खियाले मक्किएर गएका छन्, पुल अड्याउन प्र्रयोग गरिने सस्पेन्डहरु समेत चुडिन थालेका छन् ।’

खोटाङको बाहुनीडाँडा र ओखढुङ्गाको थाक्ले गाविसमा रहेको एक सय २५ मिटर लामो रहेको छ । खोटाङ, उदयपुर र ओखलढुङ्गाका स्थानीयबासीका कागि आवतजावत गर्ने मुख्य नाकामा उक्त पुल रहेको छ ।

जिल्लाबाट हरेक वर्ष लाखौं रकम फ्रिज हुन्छ तर, पुल मर्मतको लागि कसैको आँखा पुग्न सकेको छैन । न त तराईसँग सिधा यातायात जोड्ने पक्की पुल नै निर्माण कार्य सम्पन्न भएको छ ।