असोज–३० । संघीय समाजवादी पार्टी नेपालका महासचिव राजेन्द्र श्रेष्ठले पहिचानको मुद्दालाई कसैले पनि हटाउन नसक्ने दावी गर्नुभएको छ । संघीय समाजवादी पार्टी नेपाल खोटाङको प्रथम जिल्ला सम्मेलन उद्घाटनका क्रममा प्रमुख अतिथिका रुपमा बोल्दै उहाँले यस्तो दावी गर्नुभएको हो । 
कांग्रेस–एमाले लगायतका दलहरु अब बन्ने संविधानमा पहिचानको मुद्दालाई हटाएर केही संशोधनसहित पुरानै संविधान निर्माणमा लागेकाले आन्दोलनको विकल्प नरहेको बताउनुभयो । पूर्व आवास तथा भौतिक निर्माणमन्त्री समेत रहनुभएका सचिव श्रेष्ठले अन्तरिम संविधानमा समेत पहिचानको मुद्दा समेटिएकाले कुनै पनि हालतमा अब बन्ने नयाँ संविधानमा पहिचानको मुद्दा समेटिनुपर्ने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘पहिचान बिनाको संविधान घोषणा भए, घोषणा भएको भोलीपल्टै जनताले जलाउनेछ ।’ उहाँले सम्बोधन कै क्रममा थप्नुभयो, ‘यसको नेतृत्व संघीय समाजवादी पार्टीले गर्नेछ र सडकबाट एकल पहिचानसहितको संघीय संविधान जारी गर्नेछ ।’
यसका लागि आदिवासी जनजाति, दलित, पिछडिएका वर्ग, मुस्लिम लगायत एकतावद्ध भएर अगाढि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसका लागि पहिचान पक्षधर दलहरु एकताको अन्तिम चरणमा पुगिसकेको छ ।’ 
“पहिचान सहितको संघीय संविधान, ऐतिहासिक प्रथम खोटाङ जिल्ला सम्मेलनको मुख्य अभियान” भन्ने मूल नाराका साथ उद्घाटन भएको सम्मेलनलाई सम्बोधन गर्दै उहाँले संघीय राज्यको मुख्य किल्ला खोटाङलाई बनाउनुपर्ने बताउनुभयो । यसमा सबै जातजातिको उचित अधिकार तथा सहभागिता रहने श्रेष्ठले जानकारी दिनुभयो । 
पार्टीका जिल्ला संयोजक सुर्यबहादुर राईको सभापतित्वमा उद्घाटन भएको सम्मेलनमा एक नगरपालीका सहित ७२ गाविसका प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहेको छ । सदरमुकाम दिक्तेलस्थित जिल्ला विकास समितिको समीक्षालय हलमा जारी सम्मेलनले सहमतीबाटै नयाँ नेतृत्व चयन गर्ने आयोजक समितिका सदस्य हरि राजभण्डारीले जानकारी दिनुभयो ।