असोज–३१ । १३ वर्षदेखि निर्माणाधिन सुनकोसी नदीको पक्की पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण १३ वर्षमा पनि पूरा नभएको उदयपुरको घुर्मी र ओखलढुङ्गाको हर्कपुर जोड्ने पक्की पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।
निर्माणाधिन पक्की पुलको अनुगमनकाक्रममा हर्कपुर पुगेका सभाषद पिके राईका अनुसार पुलको उदयपुरतर्फको खण्डमा ढलानको काम सम्पन्न भइसकेको र ओखलढुङगातर्फको आधा भागमा ढलानका काम सम्पन्न भएको छ । मोटरेबल पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी वाईवा कन्ट्रक्सनले आगामी कार्तिक पहिलो हप्ताभित्र ढलानका सम्पूर्ण काम पूरा गर्ने बताएको सभाषद राईले जानकारी दिनुभयो ।
निर्माणको अन्तिम चरणमा पुगेको पुल संबिधानसभाको निर्वाचन भएको दिन पारेर आगामी मंसिर–४ गते उद्घाटन गर्न सडक बिभागका महानिर्देशक देवेन्द्र कार्कीसँग सल्लाह भइरहेको राईले बताउनुभयो । निर्माणाधिन पक्की पुल ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुको मूख्य प्रवेश द्धार हो ।
वाईवा भैरब कन्ट्रक्सनका ठेकेदार कृष्ण लामाले पाँच वर्षभित्र पूरा गर्नेगरी २०५८ सालमा जिम्मा लिएको पुल निर्माणको काम १३ वर्ष बित्न लाग्दा समेत पूरा हुन सकेको छैन । यसले गर्दा तीन जिल्लाका उपभोक्ता समस्याका बाबजुद आवतजावत गर्ने गरेको छ ।