कार्तिक–४, वैदेशिक रोजगारलाई सुरक्षित र भरपर्दो बनाउने उद्देश्यले जिल्लाको तीन गाविसमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जनसेवा समाज नेपाल जालपाद्धारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) ले सप्तेश्वर, माक्पा र ऐसेलुखर्कमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सुरक्षित आप्रवासन परियोजनाको परिचय, परियोजनाले हालसम्म गरेका गतिविधि र वैदेशिक रोजगारको चुनौति, साझेदार संस्था तथा विदेश जाँदा अपनाउनु पर्ने प्रक्रियाहरुको बारेमा जानकारी गराइएको सामीका कार्यक्रम अधिकृत रमेश राईले जानकारी दिनुभयो । राजनीतिक दलका प्रतिनिधी, शिक्षक, संघसंस्थाका प्रतिनिधि, वडा नागरिक मञ्चका संयोजक, नागरिक सचेतना केन्द्रका प्रतिनिधि, महिला तथा विद्यार्थीहरुलाई वैदेशिक रोजगार सम्बन्धी जानकारी दिने उद्देश्यले अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको अधिकृत राईको भनाइ छ ।

अभिमुखीकरण कार्यक्रममा सहभागीहरुले छलफलका क्रममा उठेका विषयहरुलाई आ–आफ्नो गाविसमा गएर कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन् । तीन वर्षअघि जिल्ला भित्रीएको सामीले विभिन्न गाविसमा कार्यक्रम गरीरहेको छ ।