कात्तिक–१२ । परस्त्रीसँग यौन सम्पर्क गर्न खोजेको आरोपमा खोटाङका एक व्यक्ति निर्घात कुटिएका छन् । स्थानीय एक दलित महिलासँग यौन सम्पर्क गर्न खोजेको आरोपमा दिक्तेल नगरपालिका–७ का ५८ वर्षीय खड्गबहादुर राई निर्घात कुटिएका हुन् ।
श्रीमान विदेशमा रहेको मौका पारेर यौन सम्पर्क गर्न आएका वृद्धलाई महिलाको आफन्तले निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ । शरीरको विभिन्न भागमा चोट लागेका खड्गबहादुरको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको छ । 
दलित परिवारलाई हप्काइदप्काइ गर्दै यौन सम्पर्क गर्न खोज्ने राईविरुद्ध सार्वजनिक अपराध ऐन अन्तरगत मुद्दा दर्ता भएको जिल्ला प्रशासन कार्यालय खोटाङका नायव सुब्बा लीला विश्वकर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘उनले महिलाको आफन्तमाथि हातपात गरेकाले सार्वजनिक मुद्दा दर्ता गरिएको हो ।’ 
जिल्ला प्रहरी कार्यालय खोटाङको मुद्दा शाखाका प्रहरी नायव निरीक्षक यादव गौतमका अनुसार उनले यसअघि पनि पटक–पटक दलित परिवारमाथि कुटपिट गर्नुका साथै हप्काइदप्काइ गर्ने गरेका थिए । गौतमका अनुसार दलित परिवारमाथि हातपात गर्ने उनलाई पटक–पटक द्धण्ड जरिवाना गरेर छाडिएको थियो ।