कात्तिक–१४ । दुधकोसी नदीको जीर्ण पुल मर्मत गरेपछि आवतजावतमा केही सहज भएको छ । लठ्ठा र नटबोल्ट फुस्किएर जीर्ण बनेको उक्त पुल निर्माण भएको ३० वर्षपछि मर्मत गरिएको हो ।

जीर्ण पुल मर्मतपछि खोटाङ, ओखलढुङ्गा र उदयपुरका स्थानीयबासीका लागि आवतजावतमा सहज भएको स्थानीय व्यापारी उदय राईले बताउनुभयो । एक सय २५ मिटर लामो उक्त पुल तीन जिल्लाको मुख्य नाकामा पर्छ ।

उदयपुरको कटारी हुँदै जिल्ला भित्र्याइने सामान ढुवानी गर्न वर्षौंदेखि सोही पुल प्रयोग गर्ने गरिएको छ । पक्की पुल निर्माणको काममा ढिलाइ भएपछि जिल्ला भित्र्याइने सम्पूर्ण सामान सोही पुलमार्फत भरियालाई बोकाएर तार्नु पर्दा समस्या भएको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष खुसनारायण सैंजूले बताउनुभयो ।

जीर्ण बनेको पुलमार्फत सामान बोकेर तार्नुपर्दा ज्यानै माया मारेर हिड्नुपर्ने भरियाहरुको भनाइ छ ।

उक्त ठाउँमा यसै महिनाभित्र अस्थायी बेलीब्रिज राख्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पुरानो पुल मर्मत गरेपनि कुन दिन चुडिन्छ थाहा छैन, त्यसैले चाँडोभन्दा चाँडो अस्थायी बेलीब्रिज सञ्चालनको पहल थालिएको हो ।’