कात्तिक १४ । मेरो छाती यति दुख्छ कि सहनै सक्दिन, मलाई नेपाल फर्कन सहयोग गर्नुहोस् न सर, यो हारगुहार २ वर्ष अगाडी रोजगारीका लागि मलेसिया पुगेका एक नेपालीको हो ।
बिरामले थलिएपछि खोटाङ दोर्पाचिउरीडाँडा–९ का २७ वर्षीय गुणराज थापा यतिबेला मलेसियामा बिचल्लीमा परेका छन् ।
मलेसियाको एलवाई फर्नीचर उद्योगमा कार्यरत थापा त्यहाँ पुगेलगत्तै सामान्य बिरामी परेका थिए । ३ महिनादेखि भने उनी काम गर्न समेत सकेका छैनन् । उनलाई मलेसियाको पुत्रा हस्पिटलले बिराम ठीक नहुने भन्दै नेपाल जान लिखित सिफारिस गर्दा समेत कम्पनीले नेपाल फर्कन नदिएपछि उनको बिचल्ली भएको हो । 
काम गर्न नसक्ने भएपछि मेनपावरलाई सम्पर्क गर्दा समेत मेनपावरले बेवास्ता गरेको उनको भनाई छ । मेनपावरका काउन्सुलर डाइरेक्टर भिम राईलाई पटक पटक सम्पर्क गर्दा पछिल्लो पटक फोन समेत नउठाउने गरेको उनले गुनासो गरे । 
बिरामी परेर कोठामा सुतिरहेका थापाले मलेसियास्थित नेपाली दुतावासमा हारगुहार गर्दा समेत दुतावासले आफ्नो कुरा नसुनेको उनले दुखेको पोखेका छन् । मैले दुतावासमा फोन गरेर उद्धार गरिदिनु भनेको, यहीँ आउनुस् भन्यो, टाढा छु, बिरामी छु म सक्दिन हजुर भन्दा फोन नै कटाईदिएको पीडित थापाको भनाई छ ।
हस्पिटलको सिफारिस लिएर कम्पनीमा जाँदा समेत कम्पनीले पैसाको बार्गेनिङमा नेपाल नपठाएको पीडित थापाको भनाइ छ । उनले भने, ‘कम्पनीका मालिकले नेपाल जाने नै भए आफै पैसा तिरेर जाउ भन्छ, त्यसै त बिरामी कसरी नेपाल आउनु !’
उनका साथीहरुका अनुसार उनलाई नेपाल पठाउन कम्पनीले दुई हजार चार सय रिङ्गेट मागेको छ । उनीसँग हाल एक रुपैयाँ पनि साथमा नभएको उनका साथीहरुको भनाइ छ । 
थापाले आफूलाई हस्पिटलले रेफर गरेपछि मलेसियास्थित नेपाली दुतावास, नेपाल सरकार तथा सम्बन्धित निकायसमक्ष पटक–पटक नेपाल फर्काइदिन हारगुहार गरेका थिए । 
मलेसियास्थित नेपाली दुतावास, मेनपावर तथा कम्पनीको बेवास्ताका कारण थापा झनै समस्यामा परेका हुन् ।
काठमाडौंको सामाखुसीस्थित लिङ्कस्टार मेनपावर कम्पनीबाट दुई वर्षअघि मलेसिया पुगेका उनले सबैसँग सहयोगको याचना गरेका छन् । 
‘हप्तामा २ दिन जान्छु काममा, कहिले त नसकेर फर्किन्छु’, उनी भन्छन् – ‘मेरो छाती यति पोल्छ कि सहनै सक्दिन, मलाई नेपाल फर्कन सहयोग गरिदिनुस् !’