कात्तिक १७ । खोटाङको च्यास्मीटार–४ दाल्फुमा सुधारिएको चुल्हो बनाउने तालिम सम्पन्न भएको छ । 
स्थानीय सिर्जनात्मक एकता युवा समुहको बन्दोबस्तमा गाउँमा दुई दिने तालिम सम्पन्न गरिएको हो । गाउँलाई घरभित्रको धुँवारहित वडा बनाउने उद्धेश्यले आफ्नै प्रयासमा फरक सतहको सुधारिएको चुल्हो बनाउने तालिम सञ्चालन गरिएको समुहले जनाएको छ ।
तिहारमा देउसी तथा सांगीतिक कार्यक्रम गरेर जम्मा भएको रकमबाट गाउँका प्रत्येक २९ घर परिवारका एक–एक जनालाई सहभागी गराएर तालिमको आयोजना गरिएको समुहका अध्यक्ष रसकुमार राईले बताए । तालिममा समुहका खबिराज राई र लेखराज राईले सहजीकरण गरेका थिए । 
नेपाल पत्रकार महासंघ शाखा खोटाङका अध्यक्ष दमन राईको प्रमुख आतिथ्य तथा बाहुनीडाँडा मैतुङका पुष्पराज राईको बिशेष आतिथ्यमा तालिम समापन गरिएको थियो ।

  खोटाङको च्यास्मीटार दाल्फुमा सुधारिएको चुल्हो बनाउने तालिममा सहभागी । तस्बिर: लेखराज राई