खोटाङ, कार्तिक २० । खोटाङ सदरमुकाम दिक्तेलमा आयोजित ‘घुम्ती किम्फ २०१४’मा सबैभन्दा बढि विद्यार्थीको भीड लाग्यो । 
हिमाल एसोसिएसनको आयोजना तथा नेपाल पत्रकार महासंघ खोटाङ शाखाको सह–आयोजनामा मंगलबार र बुधबार आयोजित किम्फको उत्कृष्ट फिल्महरुको प्रदर्शनीमा जिल्लाका माबि, उच्च माबि तथा क्याम्पस तहमा अध्यायनरत विद्यार्थीको बढि घुईचो लागेको आयोजकले जनाएको छ । 

काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ)का फिल्महरु ज्ञानबद्र्धन, शिक्षाप्रद तथा सुचनामूलक भएकाले ‘घुम्ती किम्फ’मा सबैभन्दा बढि विद्यार्थीको सहभागीता रहेको स्थानीय आयोजक नेपाल पत्रकार महासंघ शाखाका सचिव उजीर कार्कीले बताए । ‘घुम्ती किम्फमा प्रदर्शन गरिएका सबै फिल्महरु सन्देशमुलक र ज्ञानबद्र्धक थिए,’ सचिव कार्कीले भने, ‘त्यही भएर घुम्ती किम्फमा विद्यार्थीको सहभागीता बढि रहेको हो ।’ 

स्थानीय मुभीलेण्ड हाइभिजन हलमा प्रदर्शन गरिएको किम्फको फिल्महरु हेर्नकालागि स्थानीय सरस्वति उच्च माबि, पञ्च माबि, माउण्ट एभरेष्ट बोर्डिङ स्कुल, दिक्तेल इंलिस बोर्डिङ स्कुलका शिक्षक दुई सयसम्मको संख्यामा विद्यार्थी लिएर हल आएको महासंघले जनाएको छ । खचाखच भरिएको भीडका कारण पहिलो दिन फिल्म नहेरी फर्किएको माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका शिक्षक विद्यार्थीले दोश्रो दिन फिल्म हेरेका थिए । ‘घुम्ती किम्फ’मा प्रदर्शन गरिएका फिल्ममध्ये ‘बालकृष्ण सम’, ‘जर्नी टु यार्सा’ र ‘झ्याउली’ बढि रुचाइए । हिमाल एसोसिएसनका अनुशार खोटाङमा आयोजना गरिएको घुम्ती किम्फ यस वर्षको अन्तिम प्रदर्शन हो ।  

युवा समुह लक्षीत ‘घुम्ती किम्फ’मा जिल्लाका सबै उमेरका दर्शकको उपस्थिति रह्यो । ज्ञानबद्र्धक फिल्म तथा डकुमेन्ट्रीहरु हेर्नकालागि सदरमुकाम आसपासबाट केटाकेटी, युवायुवती देखि बुढापासम्म हलमा आए । कतिपय विद्यार्थी आफ्नो अभिभाबकका साथमा हल आएका थिए । ‘किम्फका फिल्मले मन छोयो’ पञ्च माबि दिक्तेल कक्षा १० का छात्र ईन्द्र आचार्यले भने, ‘फिल्महरु विद्यार्थीले हेर्नैपर्ने खालका रहेछन् ।’ किम्फका फिल्महरु सामाजिक अध्यानका लागि उपयोगी रहेको शिक्षक कृष्णप्रसाद आचार्यले प्रतिक्रिय दिए । 

दिक्तेलमा आयोजना गरिएको ‘घुम्ती किम्फ’मा प्रदर्शन गरिएका फिल्म हेर्न आएका विद्यार्थीहरु ।