खोटाङ, कार्तिक २६ । खोटाङको दिक्तेल नगरपालिका–९ की बिना परियारले जिल्लामै पहिलोपल्ट आमाको नामबाट नागरिकता पाउनु भएको छ ।
हालसम्म बुवाको नामबाट मात्र नागरिकता बितरण गर्दैआएको जिल्ला प्रशासन कार्यालयबाट बिनाले सोमबार आमा बदम नेपाली दर्जीको नामबाट नागरिकता प्राप्त गर्नुभएको हो । २०५२ सालमा जन्मिएकी बिनालाई प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभएको छ ।
सानोछँदै बुवा बेपत्ता बनेपछि आमाको लालन पालनमा हुर्किएकी बिनालाई बंशजको आधारमा आमाकै नामबाट नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताउनुभयो । उहाँलाई नागरिकता प्रदान गर्नकालागि सभाषद सरस्वती बजीमयले सनाखत गर्नुभएको छ ।
बिनालाई नागरिकता प्रमाणपत्र प्रदान गरेसँगै जिल्लामा आमाको नामबाट नागरिकता प्रदान गर्ने बाटो खुलेको छ । सदरमुकाम दिक्तेलस्थित सरस्वती उच्च माबिमा कक्षा १२ मा अध्यायनरत बिनाको एक भाई र एक बहिनी छन् ।
जिल्लामै आमाको नामबाट नागरिकता लिने पहिलो नागरिक बन्न पाएकोमा गर्व लागेको
बिनाले बताउनुभयो । हुर्के बढेपछि सोधखोज गर्दा पनि बेपत्ता बाबुको पत्ता नलागेपछि आमाकै नामबाट नागरिकता लिएकी उहाँले बताउनुभयो । सञ्चार माध्यमबाट आमाको नामबाट पनि छोराछोरीले नागरिकता पाएको सुनेकी बिनाले आफुले पनि आमाको नामबाट नागरिकता पाउनेमा बिश्वस्त रहँदै आएको बताउनुभयो ।