मंसिर १६ । खोटाङको उत्तरी पन्ध्र गाबिसका स्थानीयलाई लक्षीत गर्दै बाक्सिला बजारमा निशुल्क स्वास्थ्य शिबिर सुरु गरिएको छ ।
रावाखोला सेरोफेरो यूके समाज र मिसन टु हेल्प नेपालको संयुक्त आयोजना तथा नर्भिक इन्टरनेशनल हस्पिटलको प्राबिधिक सहयोगमा सोमबारदेखि दुई दिने निशुल्क स्वास्थ्य शिबिर सुरु भएको हो ।
निशुल्क स्वास्थ्य शिबिरका लागि बाक्सिला आएका यूके–बाक्सिला हेल्थ क्याम्प प्रोजेक्ट–२०१४ र मिसन टु हेल्प नेपालका प्रमुख तथा प्रतिनिधि एबं नर्भिक इन्टरनेशनल हस्पिटलका स्वास्थ्यकर्मी । |
आर्थिक समस्यका कारण आफ्नो स्वास्थ्य उपचारका लागि सुबिधा सम्पन्न अस्पतालसम्म पुग्न नसकेका बिरामीलाई गाउँमै स्वास्थ्य सेवा दिने उद्धेश्यले निशुल्क स्वास्थ्य शिबिरको आयोजना गरिएको यूके–बाक्सिला हेल्थ क्याम्प प्रोजेक्ट–२०१४ का अध्यक्ष पुर्वमेजर दिलकुमार राईले बताए । ‘रोगको पहिचान नभएर तथा औषधि नपाएर यस क्षेत्रका सर्वसाधारणले अकालमै ज्यान गुमाइरहनु परेको छ,’ अध्यक्ष राईले भने, ‘जन्माएको, हुर्काएको, बढाएको आफ्नो ठाउँका लागि केही गरौँ भन्ने प्रयास हो यो ।’ शिबिरका अवधिका लागि नर्भिक इन्टरनेशनल हस्पिटलले औषधि सहितका बिशेषज्ञ डाक्टर उपलव्ध गराएको छ ।
शिबिरको पहिलो दिन बाक्सिला, दिप्सुङ, राखाबांदेल, ऐसेलुखर्क, सुंदेल र माक्पा गाबिसका स्थानीयलाई उपचार सेवा प्रदान गरिएको छ । यस्तै, दोश्रो दिन बाँसपानी, खार्ताम्छा, फेदी, पाथेका, खार्मी, जालपा, सप्तेश्वर र दुबेकोलका सर्वसाधारणलाई सेवा प्रदान गरिने आयोजक रावाखोला सेरोफेरो यूके समाजले जनाएको छ । शिबिरमा सामान्य स्वास्थ्य जाँचका साथै स्त्री रोग, सामान्य शल्यक्रीय, इसिजी, इण्डोस्कोपी, आँखा, दाँत, ब्याक पेन लगायतका समस्याहरुको उपचार सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको हेल्थ क्याम्प प्रोजेक्टका महासचिव सप्तराज राईले जानकारी दिए ।
दुई वटा हेलीकोप्टरमार्फत बाक्सिला आएका नर्भिक अन्तर्राष्ट्रिय हस्पिटलका जनरल फिजिसियन डा. बन्दना पाण्डे, कार्डियोलोजिष्ट डा. शिवजी सिलवाल, सर्जन डा. गौरबराज ढकाल, डा. प्रगती थापा लगायतको टोलीले शिबिरमा बिरामीको स्वास्थ्य जाँच तथा उपचार गरिरहेका छन् । शिबिरको पहिलो दिन ६२० जनाले सेवा लिएको स्थानीय शिबिर व्यवस्थापक प्रमुख समिर राईले बताए ।
बिहान ९ बजेदेखि बेलुका साँझ ५ बजेसम्म सञ्चालन भइरहेको स्वास्थ्य शिबिरमा स्थानीयको बाक्लो घुँइचो लागेको छ । ‘यत्तीका भीड हुन्छ भन्ने सोचेका थिएनौँ,’ हेल्थ क्याम्प प्रोजेक्टका अध्यक्ष राईले भने, ‘तर आउनेलाई त्यसै फिर्ता पठाउँदैनौँ, रातसाँझ गरेर भएपनि उपचार दिने प्रबन्ध मिलाउँछौँ ।’ खोटाङको रावा खोला क्षेत्रमा घर भइ हाल बेलायती सेनामा कार्यरत युवाले सन २००७ जुलाई ७ मा स्थापना गरेको रावाखोला सेरोफेरो यूके समाज र स्टाफ नर्स बबी लामा लगायतले स्थापना गरेको मिसन टु हेल्प नेपाल नामक च्यारिटी संस्थाले नेपालका बिभिन्न क्षेत्रमा मानव सेवाका काम गर्दैआएका छन् । नर्भिक अस्पतालको स्थापनाकालकी स्टाफ नर्सकारुपमा काम गरेकी मिसन टु हेल्प नेपालकी अध्यक्ष लामाको समन्वयमा नर्भिक अस्पतालले बिशेषज्ञ डाक्टर र औषधि पठाउन तयार भएको हो । बाक्सिलाको शिबिरमा नर्भिक अस्पतालका महाप्रबन्धक रबि शर्मा समेत आएका छन् ।