मंसिर–२५, मानसिक सन्तुलन गुमाएकी एक महिलालाई जबरजस्ती बलात्कार गर्ने खोटाङका युवालाई दश वर्ष कैंद सजाय सुनाइएको छ । मानसिक सन्तुलन गुमाएकी ४० वर्षीया दलित महिलालाई जबरजस्ती बलात्कार गर्ने सप्तेश्वर–८ का १८ वर्षीय सन्देश राईलाई जिल्ला अदालत खोटाङले दश वर्ष कैंद सजाय सुनाएको हो ।
जिल्ला न्यायधिस ईश्वरीप्रसाद गौतमको एकल इजलासले राईलाई बलात्कार गरेकामा पाँच वर्ष र अशक्त महिलालाई बलात्कार गरेबापत पाँच वर्ष गरी दश वर्ष कैंद सजाय सुनाएको अदालतका श्रेष्तेदार भीष्म भट्टराईले बताउनुभयो । आफ्नै घरमा सुतीरहेकी सुस्त मनस्थिति भएकी दलित महिलालाई राईले गत फागुन–२५ गते बलात्कार गरेको आरोपमा फागुन–२९ गते प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेको आठ दिनमै बिना अनुसन्धान चैत्र–६ गते रिहा गरिएका राईलाई अधिकारकर्मीहरुको चर्को दबाबपछि पुनः चैत–१२ गते मोरङबाटबाट प्रहरीले पक्राउ गरी कारबाही थालेको थियो । एमाले समर्थक नेताहरुको दबाबमा २० दिनभित्र पीडित महिलालाई एक लाख रुपैयाँ दिने र जग्गा समेत पास गरीदिने शर्तमा घटना ढाकछोपको प्रयास भएको खुलासा भएपछि अधिकारकर्मीले चर्को बिरोध गरेका थिए ।
श्रोतका अनुसार पीडित महिला न्याय खोज्दै सदरमुकाम दिक्तेलसम्म आएपनि आरोपित पक्षले प्रहरीसम्म पुग्न नदिइ बाटैमा मिलापत्र गराएर फर्काएको खुलासा भएको थियो । पीडकका आफन्तले आर्थिक प्रलोभन देखाएर बलात्कारका घटना ढाकछोपको प्रयास गरेका थिए ।
यद्यपी जिल्लास्थित मानवअधिकार आयोग, इन्सेक, महिला मानव अधिकार रक्षक, पत्रकार लगायतको विरोधपछि राई बिरुद्ध कारवाही प्रक्रिया अघि बढेको थियो ।
यो पनि पढ्नुहोला