मंसिर–२५, खोटाङमा गायन विद्याको जिल्लाव्यापी प्रतियोगीता ‘भ्वइस अफ खोटाङ’ सुरु भएको छ । 
गाउँ–गाउँमा लुकेर रहेका गायनका प्रतिभाहरुको पहिचान, संबर्धन र बिकास गर्ने उद्धेश्यकासाथ आयोजना गरिएको ‘भ्वइस अफ खोटाङ’को पहिलो अडिसन बुधबार सुरु भएको हो । 
‘समतामुलक समाज निर्माणका लागि सांगीतिक अभियान’ भन्ने नाराका साथ नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको आयोजनामा बाक्सिलाबाट सुरु गरिएको ‘भ्वइस अफ खोटाङ’को पहिलो चरणको अडिसनबाट गायनका १३ जना प्रतिभा छनौट भएका छन् । सो अडिसनबाट २६ प्रतिष्पर्धीमध्ये रोहन राई, राजेश राई, सुगम राई, सुचन राई, मनोज राई, सन्तोष राई, इश्वर राई, दिपशिखा राई, रकेन्द्र राई, अनिल राई, कुन्तीकुमार राई, ऋतु राई र मिलन राईले पहिलो अडिसनबाट ग्रीन कार्ड पाउनुभएको आयोजकले बताएको छ । 
तीन चरणको अडिसनबाट छनौट गरिने स्वरका प्रथम, दोश्रो र तेश्रो बिजेतालाई नगद पुरस्काकासाथमा संगीत विद्यालयमा अध्यायन गर्ने र चलचित्रमा गीत गाउने अवश समेत दिइने संघका सचिव दिपक ठटालले बताउनुभयो । 
बाक्सिलाबाट सुरु गरिएको ‘भ्वइस अफ खोटाङ’को पहिलो चरणको अडिसन आगामी पुस–१७ गते सदरमुकाम दिक्तेलमा समापन गरिने कार्यक्रम छ । बाक्सिलाबाट सुरु गरिएको पहिलो चरणको अडिसन ऐसेलुखर्क, लामीडाँडा, हलेसी, बुईपा, मानेभञ्ज्याङ, सछितापोखरी, खोटाङबजार लगायतका ९ स्थानमा सञ्चालन गरिने छन् । सदरमुकाम बाहिर सञ्चालन गरिने पहिलो चरणको अडिसन सकिएपछि दोश्रो र तेश्रो अडिसन सदरमुकाम दिक्तेलमा गरिने आयोजकले जनाएको छ । 
‘गाउँ–गाउँमा लुकेर रहेका गायनका प्रतिभालाई उजागर गर्दै अवशर दिने हाम्रो उद्धेश्य हो,’ संघका अध्यक्ष चर्च बिश्वकर्माले भन्नुभयो, ‘अवशर नपाइरहेका प्रतिभाको सफलताका लागि सही तरिका र सही समय सिर्जना गर्नु हाम्रो दायित्व हो ।’