पुस–१, जिल्लामा यस वर्ष धान उत्पादनमा १५ प्रतिशतले गिरावट आएको जिल्ला कृषि विकास कार्यालय खोटाङले जनाएको छ । कार्यालयका अनुसार वर्षा कम भएका कारण गत वर्षको तुलनामा यस वर्ष पाँच हजार छ सय नौं मेट्रिकटन कम धान उत्पादन भएको हो । 
गत वर्ष ३२ हजार छ सय ६४ मेट्रिकटन धान उत्पादन भएको जिल्लामा यस वर्ष २६ हजार सात सय ५५ मेट्रिकटन मात्र धान उत्पादन भएको वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बतानुभयो । मुल फुट्नेगरी वर्षा नभएका कारण यस वर्ष तीन हजार ४१ हेक्टर धान खेती हुने जमिन बाँझै रहेको रिजालको भनाइ छ । 
कार्यालयका अनुसार जिल्लाको १५ हजार दुई सय दुई हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । नेर्पा, दोर्पाचिउरीडाँडा, खार्पा, डम्बर्खुशिवालय, चिसापानी, देविस्थान, खोटाङबजार लगायतका पकेट क्षेत्रमा समेत धान उत्पादन कम भएको कृषकहरुको भनाइ छ । 
जिल्लामा लोकतन्त्र, साबित्री, राधा, मकवानपुर, भोटाङ्गे, अटे, मार्सी, बासमती जातका धान रोप्ने गरिएको छ । धान उत्पादन घटेको खोटाङमा यस वर्ष मकै र कोदोको उत्पादन भने वृद्धि भएको छ ।
मकै सात र कोदोको उत्पादनमा चार प्रतिशतले वृद्धि भएको कृषि कार्यालयले जनाएको छ । जिल्लाको ४१ हजार ६० हेक्टर क्षेत्रमा मकै तथा तीन सय १५ हेक्टर क्षेत्रफलमा कोदो खेती गरिन्छ । 
बार्षिक ४६ हजार सय २५ मेट्रिकटन खाद्यान्न आवश्यक पर्ने जिल्लाका लागि यस वर्ष १८ हजार ६७ मेट्रिकटन खाद्यान्न अपुग देखिएको रिजालले जानकारी दिनुभयो ।