पुस–४, खोटाङ उद्योग बाणिज्य संघले दिक्तेल नगरपालिकालाई सार्थक र संबृद्ध बनाउन तत्काल पुर्वाधार बिकासका लागि सुझाव दिएको छ । आवश्यक भौतिक पुर्वाधारको बिकासअघि नै ‘नाम मात्रको नगरपालिका घोषणा गरिएको’ टिप्पणी भइरहेको बेलामा उद्योग बाणिज्य संघले सदरमुकाम दिक्तेलमा शुक्रबार साँझ एक कार्यक्रमको आयोजना गरी स्थानीय बिकास अधिकारी र नगरप्रमुखलाई १७ बुँदे सुझाव दिएको हो ।
केही समयअघि खोटाङ आएका स्थानीय बिकास अधिकारी महेन्द्रकुमार सापकोटा र नगरप्रमुख प्रकाश अधिकारीलाई स्वागत कार्यक्रमको आयोजना गरी बाणिज्य संघले दिक्तेलको रत्नपार्क–खानीडाँडा बिमानस्थल सडक सुधार, नगरभित्र खानेपानीको व्यवस्थापन, नगर वरिपरि रिङरोड, बसपार्क निर्माण, रत्नपार्कदेखि खानीडाँडाहुँदै रेग्मीटार जोड्ने सडक निर्माण, अस्पतालको स्तरोन्नती, फोहोरमैला व्यवस्थापनका लागि सुझाव दिएको छ ।
यस्तै, नगरभित्र पर्ने खानीडाँडा बिमानस्थल व्यवस्थापन, शौचालय निर्माण, बजार क्षेत्रमा सडक बत्ती, नमूना बस्ती राख्ने क्षेत्र छनौट, कृषि उपज बिक्री स्थल र कोल्ड स्टोर निर्माण, कृषि तथा बनपैदावारमा आधारित उद्योग स्थापनामा सहयोग, नगरभित्रका ऐतिहासिक, पुरातात्विक, धार्मिक स्थलको पहिचान र बिकास, गुणस्तरिय शिक्षाको बिकास, खेलमैदान निर्माण लगायतका बिषयलाई प्रस्ताव सहित सुझाव दिएको छ ।
कार्यान्वयनमा आइसकेको नगरपालिकालाई संबृद्ध र मजबुद बनाउनका लागि सुन्दर नगरपालिकाको परिकल्पनाकासाथ जिबिस र नगरपालिकालाई प्रस्तावसहितको सुझाव दिइएको खोटाङ उद्योग बाणिज्य संघका उपाध्यक्ष राजेन्द्र लयालुले बताउनु भयो । ‘नगरपालिकालाई सार्थक बनाउन सडक, बिद्युत, खानेपानी, स्वास्थ्य, शिक्षा लगायतका पुर्वाधार अनिवार्य छ,’ उपाध्यक्ष लयालुले भन्नुभयो, ‘सुन्दर नगरपालिकाको परिकल्पनालाई लक्ष्यमा पु¥याउन एउटा प्रणाली अनिवार्य छ ।’