पुस–७, जिल्लामा हुने बलत्कारका अधिकांश घटनालाई आर्थिक लेनदेनमा मिलाइने गरिएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आईतबार गरेको चौथो त्रैमासिक पूर्वसमिक्षा कार्यक्रमका सहभागीहरुले बलात्कारका अधिकांश घटनालाई आर्थिक लेनदेनमा टुङ्ग्याउने गरिएको बताएका हुन् । 
बलात्कारका घटनालाई आर्थिक लेनदेनमा मिलाइने गरेका कारण पिडकले कानूनबाट उन्मुक्ति पाइरहेको भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन् । राप्रपा नेपालका जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठले बलात्कारको घटनालाई लेनदेनमा मिलापत्र गरिदा आरोपितको मनोबल बढिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपय अवस्थामा सहमतीमा भएको सम्बन्धलाई पनि यौनहिंसाको रुप दिइएको पाइएको छ ।”
इन्सेक प्रतिनिधि डिएम चाम्लिङले गत अक्टोबरदेखि डिसेम्बरको अवधिमा जिल्लामा १७ वटा मानवअधिकार हनन्का घटनाहरु घटेको जानकारी दिनुभयो । इन्सेकले तीन महिनाको अवधिमा जिल्लामा घरेलुहिंसाका पाँचवटा, गैरन्यायीक हत्या एक, यौन दुव्र्यवहारका तीन, बालिका बलत्कारका दुई, शिशु हत्या एक, बहुविवाहका एक, महिलामाथि हुने दुव्र्यवहारका तीन र कुटपिटका घटना एक वटा भएको प्रतिवेदन सार्वजनिक गरेको छ ।