पुस–९, आर्थिक अभावमा पावर हाउस पुनःमर्मत नहुँदा खोटाङको दक्षिणी क्षेत्रमा पर्ने चिसापानीबजार तीन वर्षदेखि अन्धकार बनेको छ । २०६८ सालमा गएको पहिरोले पुरिएको स्थानीय दोभाने खोला लघु जलविद्युत आयोजनाको पावर हाउस आर्थिक अभावमा पुनःमर्मत गर्न नसकिएका कारण चिसापानीबजार अन्धकार बनेको हो ।
पहिरोले पुरिएको पावर हाउस हालसम्म आर्थिक अभावमा पुनःमर्मत गरेर सञ्चालनमा ल्याउन नसकिएको लघु जलविद्युत आयोजना उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र श्रेष्ठले बताउनुभयो । ११ किलोवाट क्षमताको विद्युत अवरुद्ध हुँदा चिसापानी–८ र ९ का ९७ घरपरिवार विजुली बाल्नबाट वञ्चित बनेका छन् ।
चिसापानीबजार जिल्लाको दक्षिणी क्षेत्रको प्रमुख व्यापारिक केन्द्र हो । खोटाङको दक्षिणी क्षेत्रका गाविसका स्थानीयले उदयपुरको बेलटारबाट सोही बजार आउने दैनिक उपभोग्यवस्तु उपयोग गर्दै आएका छन् ।
पावर हाउस बिग्रिएसँगै चार वर्षदेखि चिसापानीबजारमा टिभी हेर्न, मोवाइल चार्ज गर्न, फोटोकपी र फोटो स्टुडियो मेसिन चलाउन समस्या हुँदै आएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । पावर हाउस बिग्रिएपछि विद्युतको विकल्पमा स्थानीयले सोलार र टुकीको प्रयोग गर्दै आएका छन् ।
अवरुद्ध विद्युत सुचारु गराउनका लागि पहल भइरहेपनि कहिलेसम्ममा काम पूरा हुने यकिन नभएको श्रेष्ठको भनाइ छ । उहाँले भन्नुभयो, “पावर हाउस पुनःनिर्माण गर्न र विद्युत सुचारु गराउन दातृ निकायसँग कुरा भइरहेको छ, तर कहिलेसम्ममा काम पूरा हुने टुङ्गो छैन ।”
जिल्ला विकास समितिको एक लाख, गाविसको दुई लाख ५० हजार र समुदायको लगानी गरी १५ लाखको लागतमा २०६३ सालमा चिसापानीमा लघु जलविद्युत आयोजनाबाट विद्युत बिस्तार गरिएको थियो ।