पुस–११, खोटाङमा ‘विद्यार्थीसँग नेपाल राष्ट्र बैंक’ कार्यक्रम सञ्चालन गरिएको छ । विद्यार्थीमा वित्तीय साक्षरता अभिबृद्धिका लागि नेपाल राष्ट्र बैंक र स्थानीय सालपा बिकास बैंकको संयुक्त आयोजनामा सदरमुकाम दिक्तेलमा ‘विद्यार्थीसँग नेपाल राष्ट्र बैंक’ कार्यक्रम सञ्चालन गरिएको हो ।
विद्यार्थीमा उद्यमशील चेतनाको बिकास गर्दै उत्पादनशील नागरिक तयार पर्ने उद्धेश्यले ‘विद्यार्थीसँग नेपाल राष्ट्र बैंक’ कार्यक्रम सञ्चालन गरिएको नेपाल राष्ट्र बैंकका सहायक निर्देशक भागवत आचार्यले बताउनु भयो । नेपाल राष्ट्र बैंकका निर्देशक रमेश दाहालको उपस्थितिमा दिक्तेलको समिक्षालय हल, दिक्तेल बहुमुखी क्याम्पस र सरस्वती उच्च माबिमा विद्यार्थीलाई सहभागी गराएर कार्यक्रम सञ्चालन गरिएको छ ।
सानैदेखि बिद्यार्थीमा बचत गर्ने, बैंकिङ बानीको बिकास गर्ने, बैंक कर्जा लिएर उद्यम गर्ने, रेमीट्यान्सलाई उत्पादनशील काममा उपयोग गर्ने, बीमा गर्दै आफ्नो उद्यमलाई सुरक्षित गर्ने लगायतका आर्थिक तथा बित्तीय चेतना अभिबृद्धिका लागि कार्यक्रम आयोजना गरिएको हो । ‘अहिले पढेर जागीर खोज्ने होइन, आफैले जागीर सिर्जना गर्ने चेतनाको आवश्यकता छ,’ सहायक निर्देशक आचार्यले भन्नुभयो, ‘यही बित्तीय सचेतना जगाउनका लागि विद्यार्थीसँग नेपाल राष्ट्र बैंकको अवधारणा अघि सारिएको हो ।’ कार्यक्रममा नेपाल राष्ट्र बैंकका सहायक निर्देशक आचार्यले प्रस्तुत गरेको कार्यपत्रका बिषयमा नेपाल राष्ट्र बैंककै निर्देशक दाहालले प्रकाश पार्नुभएको थियो ।
छुट्टा–छुट्टै दुई दिन सञ्चालन गरिएको अन्तरक्रीयात्मक कार्यक्रमको अवधिमा विद्यार्थीलाई बैंक तथा बित्तीय संस्था, बित्तीय प्रणाली, नीति, नियमावली, बचतका बिधि लगायतका बिषयमा जानकारी दिइएको छ । कार्यक्रमपछि जिल्लाका बैंक तथा बित्तीय संस्थाहरुले समेत ‘विद्यार्थीसँग नेपाल राष्ट्र बैंक’ कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।