खोटाङ असार–५, स्थानीय तह तथा सर्बसाधारण नागरिकले पटक–पटक ताकेता र खबरदारी गर्दा पनि खोटाङस्थित दिक्तेलबजारकोे सडक ढलान कार्य सुचारु हुन सकेको छैन । निर्माण कम्पनीले बजारबीचमा अलपत्र छाडेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा स्थानीयले पटक–पटक ताकेता गरे पनि ढलान कार्य सुचारु नगरिएको हो ।

सडक ढलानको काममा चरम ढिलासुस्ती गरिरहेको सुर्य विकास जेभीलाई नगरपालिकाले काम सुचारु गर्न अल्टिमेटमदेखि बजारबीचमै सार्वजानिक सुनुवाई गर्दा पनि काम सुचारु भएको छैन । ढलान कार्यमा ढिलाई हुँदा बजार क्षेत्रभित्र यातायात अवरुद्द हुनका साथै पैदल यात्रुलाई आवतजावतमा समस्या भएको छ । सडक ढलान अलपत्र हुँदा दुर्घटनाको जोखिम समेत बढेको छ ।

रोकिएको काम हप्ता दिनभित्र सुचारु गर्न भन्दै गत जेठ १६ गते नगरपालिकाले पत्राचार निर्माण कम्पनीलाई गरेको थियो । नगरप्रमुख तीर्थ भट्टराईले लेख्नुभएको पत्रमा निर्माण कम्पनीले तोकिएको समयमा काम सुरु नगरे कार्वाही प्रक्रिया अघि बढाउने उल्लेख थियो । तोकिएको समयसिमा पार गर्दा पनि काम सुरु गर्न अटेर गरेपछि जेठ–२७ मा निर्माण कम्पनीबिरुद्द निर्माणस्थलमै सार्बजानिक सुनुवाई कार्यक्रम गरिएको थियो । नगरपालिकाले आयोजना गरेको सार्बजानिक सुनुवाईमा स्थानीयले सडक ढलानको अवरुद्ध काम तत्काल सुरु गरेर सम्पन्न गर्नुपर्ने माग राखेका थिए । दिक्तेलबजार सल्लेरीटोलमा आयोजित कार्यक्रममा ठेकेदारप्रति स्थानीयले आक्रोश पोखेका थिए ।

दिक्तेलबजारको मानव अधिकार चोकदेखि त्रिबेणीचोकसम्मको सडक ढलान गर्ने ठेक्का लिएको सुर्य विकास जेभीले हाल बेस क्याम्प क्षेत्रमा पुगेर सडक ढलानको काम अलपत्र पारेको छ । आलटालको शैलीमा काम गर्दैआएको निर्माण कम्पनीले गत बैसाख दोश्रो साता यता काम ठप्प पारेको हो । निर्माण कम्पनीले सघन शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाको २ करोड ६८ लाख वजेटमा २० मंसिर २०७८ सम्ममा बजार सडक ढलानको काम पूरा गर्नेगरी २०७८ असार १० मा सम्झौता गरेको थियो ।

निर्माण कम्पनीले मानव अधिकार चोकबाट बेस क्याम्पसम्मको खण्डमा गत २२ असोज राती ढलान सकेको थियो । तर, बेस क्याम्पबाट त्रिबेणीचोकसम्मको ढलानका लागि बेस क्याम्प क्षेत्रमा स्काभेटरले सडक खनेर असरल्ल छाड्दा आवत–जावत गर्न समस्या सिर्जना भएको हो ।।