पुस–२१, कुटपिट तथा दुव्र्यबहार गर्नमा संलग्न खोटाङका तीन युवाविरुद्ध सार्वजनिक मुद्दा चलाइएको छ । नेकपा एमालेका इन्द्रेणीपोखरी गाउँ कमिटि अध्यक्ष टंकप्रसाद खतिवडालाई कुटपिट गर्ने तथा अन्तरपार्टी महिला सञ्जालकी जिल्ला अध्यक्ष बिमला राई र इन्दे्रणीपोखरी गाविस सचिव बोलराज आचार्यलाई दुव्र्यबहार गर्ने तीन युवाविरुद्ध मुद्दा चलाइएको हो । 
कुटपिट तथा दुव्र्यबहार गरेको उजुरीका आधारमा शुक्रबार राती पक्राउ परेका ईन्द्राणीपोखरी–६ का २९ वर्षीय होमराज राई, इन्द्राणीपोखरी–२ का १७ वर्षीय जगदीश राई र १५ वर्षीय मञ्जन राईलाई सार्वजनिक मुद्दा दर्ता गरी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले बताउनुभयो । कारबाहीका लागि इन्द्रेणीपोखरीका सर्वदलीय सर्वपक्षीय बैठकले गरेको निर्णयको प्रतिलिपीसहित युवकबिरुद्ध प्रहरीमा उजुरी परेको थियो । 
दोषीलाई कारबाही गर्न, पीडितलाई न्याय दिलाउन र सामाजिक कार्यकर्ता तथा गाविस सचिवलाई निर्भयताका साथ गाउँमा गएर काम गर्ने वातावरण बनाउन खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका सचिवालय तथा सरसफाइ श्रोतकेन्द्र, गाविस सचिव हकहित केन्द्र, पत्रकार सरसफाइ तथा स्वच्छता समन्वय समितिले प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीको ध्यानाकर्षण गराएका छन् । चर्पी तथा सुधारिएको चुल्हो निर्माणका लागि सचेतनामुलक कार्यक्रम सञ्चालन गर्न इन्द्राणीपोखरी पुगेकी सञ्जालकी अध्यक्ष राईलाई शुक्रबार दिउँसो होमराजले अपशव्द बोल्दै दुव्र्यबहार गरेको र रोक्नेक्रममा गाबिस सचिव आचार्यमाथि पनि हातपात र दुव्र्यबहार गरेको प्रहरीले बताएको छ । घटनापछि खतिवडाको घरमा बास बस्न पुगेका सञ्जालकी अध्यक्ष राई र सचिव आचार्यमाथि होमराज नेतृत्वको समुहले बास बसेकै घरमा आक्रमण गर्न गएको र उनीहरुलाई रोक्नेक्रममा खतिवडामाथि कुटपिट भएको स्थानीयले बताएका छन् ।
उनीहरुको कुटपिटबाट खतिवडा घाइते भएको प्रहरीले बताएको छ । समुहको टर्च प्रहारबाट टाउकोमा गहिरो चोट लागेका खतिवडालाई उपचारका लागि बिराटनगर पठाइएको प्रहरीले जनाएको छ ।