माघ–५, कलाकार लैनसिं बाङ्देलको शालिक स्थापनाका लागि प्रतिमा स्थापना समिति गठन गरिएको छ । स्थापनामा चासो नदिइदा चार वर्षदेखि खोटाङमा अलपत्र बनेको बाङ्देलको शालिक स्थापनाका लागि अगमसिं राईको संयोजकत्वमा १५ सदस्यीय प्रतिमा स्थापना समिति गठन गरिएको हो । 
बाङ्देलको अर्धकद शालिक हाल सदरमुकाम दिक्तेलको रत्नपार्कस्थित एक होटलमा राखिएको छ । होटलको पेटीमा प्लाष्टिकले छोपेर अलपत्र अवस्थामा राखिएको बाङ्देलको शालिक स्थापनाका लागि पहल थालिएको समितिका संयोजक राईले बताउनुभयो । 
खोटाङको सदरमुकाम दिक्तेलको रत्नपार्कस्थित एक होटलमा अलपत्र अवस्थामा राखिएको लैनसिं बाङ्देलको शालिक ।
प्रतिमा स्थापना समितिले सदरमुकामभित्रको उपयुक्त स्थानमा शालिक स्थापनाका लागि दिक्तेल नगरपरिषद्मा पेश गरेको प्रस्ताब जिल्ला परिषद्मा लैजानेगरी पारित भएको छ । बाङ्देलको शालिक दिक्तेलको हाटडाँडा, रत्नपार्क, जिल्ला प्रशासन कार्यालय नजिक वा हुर्लुङमध्ये कुनै एक स्थानमा स्थापना गर्नका लागि छलफल तथा परामर्श भइरहेको छ । 
जिल्लाको सार्वजनिकस्थलमा राख्नेगरी २०६७ सालमा मोरङ बेलबारीका मुर्तीकार श्याम गौतमले बनाएर दिएको साहित्यकार एवम् कलाकार बाङ्देलको ढुङ्गे शालिक पदस्थापनामा ध्यान नपुग्दा अलपत्र बनेको हो । मुर्तीकार गौतमले बाङ्देलको शालिक सहित हलेसीमा राख्नेगरी एउटा शिवलिङ्ग र बसाहाको ढुङ्गेमुर्ती जिल्ला विकास समितिलाई निःशुल्क हस्तान्तरण गरेका थिए । 
बाङ्देलको शालिक दिक्तेलको पशल हुँदै हाल होटलको पेटीमा बेवारिसे अवस्थामा राखिएको छ, भने बसाहा र शिवलींगको मुर्ती सदरमुकामकै माता मन्दीरमा राखिएको छ । गौतमले जिल्लाका विशेष सार्वजनिक व्यक्तित्वकोरुपमा बाङ्देलको शालिक बनाएर पायक पर्ने सार्वजनिक स्थानमा राख्न जिविसलाई दिएका थिए । 
जिल्लासम्म शालिक ल्याउनेक्रममा जिविसले गौतमलाई ३० हजार भाडा दिएको थियो । उसबेला जिल्ला विकास समिति तथा जिल्लास्थित राजनैतिक दलका नेताहरुले द्धन्द्ध कालमा ध्वस्त बनाइएको रानी रत्न राज्यलक्ष्मी शाहको शालिक आसपासमा बाङ्देलको मुर्ती राख्ने निर्णय गरेका थिए । 
नाछिरिङ राई थर भएका लैनसिं बाङ्देलको पुर्खौली थलो खोटाङको उत्तरी गाविस राखाबाङ्देल हो । खोटाङको राखाबांदेलका नाछिरिङ राईका अगुवाहरुले बाङ्देलको शालिक अलपत्र बनेकोप्रति दुःख व्यक्त गरेका छन् । लैनसिं पनि नाछिरिङ राई भएका कारण राखाबाङ्देलका नाछिरिङ राई समुदायले उनको शालिक आफ्नो गाउँमा लैजाने बताउन थालेका हुन् । जिल्ला विकास समिति र नगरपालिकाले तत्काल शालिक स्थापनाको पहल नगरे आफ्नै गाउँमा लगेर राख्ने राखाका गृहकुमार राईले बताउनुभयो ।