माघ–८, नेपाल सितोरियो कराते संघ खोटाङले जिल्लामा ऐतिहासक ‘प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता २०७२’ गर्ने भएको छ । संघले जिल्लामा खेल सँस्कृतिको विकास गर्दै जिल्लालाई खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यले आगामी बैशाख–१ गतेबाट प्रतियोगता गर्ने भएको हो ।
सदरमुकाम दिक्तेलस्थित माटीकोरे खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो र चौथो हुने समूहले क्रमशः एक लाख, ७० हजार, ४० हजार, २० हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने छन् । प्रतियोगितामा अनुशासित समूहलाई दश हजार, उत्कृष्ठ मार्चपास गर्ने समूहलाई नगद दश हजार, उत्कृष्ठ महिला तथा पुरुष खेलाडीलाई दश÷दश हजार नगद, उत्कृष्ठ टिम कोचलाई दश हजार, उत्कृष्ठ टिक व्यवस्थापकलाई दश हजार, अनुशासित पुरुष तथा महिला खेलाडीलाई दश÷दश हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने संघका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभयो ।
चन्दा संकलनबाट आयोजना गरिने प्रतियोगितामा नेपालका पाँचै विकास क्षेत्र, विभागीय टिम नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल विश्व विद्यालय तथा भारत, भुटान, बंलगलादेश र श्रृलङ्काको सहभागिता रहने संघले जनाएको छ । १८ समूहको सहभागिता रहने प्रतियोगितामा चार सय ५० जना खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ । 
७६ पदक संख्याका लागि प्रतिस्पर्धा गराइने प्रतियोगितामा १९ स्वर्ण, १९ रजत र ३८ कास्य पदक रहेको छ । प्रतियोगितामा पुरुष एकल काता र महिला एकल काता तथा पुरुष टिम काता र महिला टिम कातामा तीन÷तीन जनाको समूह रहने आयोजक समितिले जनाएको छ । 
प्रतियोगितामा पुरुषतर्फ ४५, ५०, ५५, ६५, ६७, ७५, ८४ र ८४ केजी भन्दा माथि तथा महिलातर्फ ४०, ४५, ५०, ५५, ६१, ६८ र ६८ केजीभन्दा माथि प्रतिस्पर्धा गराइने जनाइएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न जातजातिको संस्कृति झल्कने साँस्कृतिक झाँकी समेत प्रस्तुत गरिने संघका उपाध्यक्ष मिलन कसजुले जानकारी दिनुभयो ।
करिब ३५ लाखको लागतमा सम्पन्न गर्ने गरी आयोजना गरिने प्रतियोगिता सफल पार्नका लागि प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाको संयोजकत्वमा मुल आयोजक समिति गठन भएको छ । यसका लागि जिल्लास्थित सरकारी तथा गैंरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु उपसमितिमा रहेका छन् ।
संघले प्रतियोगिताका लागि दश लाख बराबरको म्याट(तातामी) तथा आवश्यक खेल सामाग्री जुटाइसकेको छ । विभिन्न व्यक्ति तथा संघसंस्थाबाट संकलन गरिएको चन्दाबाट खेल सामाग्री खरिद गरिएको संघले जनाएको छ ।