माघ–२७, जिल्लामा उत्पादन हुने रावाखोला जलविद्युत आयोजनाका लागि बैंकहरुसँग सम्झौता भएको छ । नेपाल बैंक लिमिटेडको नेतृत्वमा सोमबार सम्झौता भएको हो ।
एक अर्ब २५ करोडको लागतमा निर्माण कार्य सम्पन्न हुने हाइड्रो पावरका लागि नेपाल बैंक लिमिटेड, प्रभु, काष्ठमाण्डप, सिटिजन र बिभोर बैंकले लगानी गर्ने भएको छ । अढाई वर्षभित्रमा सञ्चालनमा ल्याइने हाइड्रो पावर छ दशमलव पाँच मेगावाट क्षमताको हुने दुधकोकोसी हाइड्रो पावर कम्पनीका अध्यक्ष प्रेम लामाले बताउनुभयो । सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालनको तयारी गरिएको हाइड्रो पावरका लागि जिल्लाबासीलाई बढि स्वामित्व प्रदान गर्नेगरी अभियान थालिएको लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “शेयर लिन इच्छुक खोटाङबासीले देश तथा विदेश जुनसुकै स्थानबाट ‘सकेको’ लगानी गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।”
लामाका अनुसार बाहिरका लगानीकर्ताहरु लगानी गर्न होडबाजी गरिरहेका भएपनि जिल्लाको योजनामा जिल्लाबासीकै बढि स्वामित्व रहोस् भन्ने हाम्रो चाहना राखिएको छ । आयोजनाका लागि ३० प्रतिशत रकम शेयर लगानीकर्ताबाट जुटाउने तयारी गरिएको जनाइएको छ ।
भविष्यमा आएको मुनाफा दिनेगरी लगानीकर्ताका लागि शेयर खुल्ला गरिएको कम्पनीले जनाएको छ । लामाले भन्नुभयो, “योजनाका लागि आफ्नो क्षमता अनुसार लगानी गर्ने व्यवस्था छ, पछि नौं वर्षसम्म १५ प्रतिशत र दशौं वर्षपछि २५ प्रतिशतका दरले लाभांश दिने कम्पनीको योजना छ ।”
जिल्लाको हौंचुर र जालपा गाविसकोबीचबाट बहने रावा खोलाको पानीलाई हौंचुरको भैंसेबाट खसाएर विद्युत उत्पादन गर्नेगरी काम सुरु गरिएको छ । २०७० साल माघमा काम थाल्ने अनुमती लिएको कम्पनीले हौंचुरको मंगलबारेमा बाँध बनाएर दुई हजार तीन सय ३१ मिटर लामो कुलोबाट पानी खसाउने तयारी गरेको छ ।
नेपाल सरकारसँग २०६९ सालमा विद्युत खरिद–बिक्री सम्झौता गरिएको योजनाबाट वार्षिक २० करोड ५० लाख ८० हजार आम्दानी गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ । ३० वर्षपछि स्वतः सरकारलाई हस्तान्तरण गरिने योजनाका लागि बैंक तथा वित्तीय कम्पनीबाट ७० प्रतिशत ‘लोन’ जुटाइने अध्यक्ष लामाको भनाइ छ ।
पाँच वर्षभित्र खोटाङलाई लोडसेडिङ मुक्त बनाउने घोषणा गरेको जिल्ला विकास समितिले २०६३ सालमा लामाको नाममा दर्ता भएको रावाखोला हाइड्रो पावरलाई पिपिपि मोडलमा बदलेर सञ्चालन गर्ने प्रकृया थालेको हो । साँढे चार मेगावाट विद्युतले धान्न सक्ने अवस्था रहेको खोटाङमा यस्ता हाइड्रोपावर निर्माणको चर्चाले जिल्लाबासीमा नयाँ उत्साह थपिएको छ ।
आफ्नो नाममा दर्ता गरेर काम नगरी खोला ओगट्ने प्रबृत्ति बढिरहेको समयमा खोटाङको २०६७ सालमा सम्पन्न १८ औं जिल्ला परिषद्ले रावाखोला हाइड्रो पावरलाई सञ्चालन गर्ने निर्णय गरेको थियो । योजना सुरु भएको अढाई वर्षपछि पूरा हुने हाइड्रोपावरबाट उत्पादित विद्युत खोटाङबाहेक छिमेकी जिल्ला ओखलढुङ्गा, उदयपुर, भोजपुर, सोलुखुम्बुलगायत जिल्लामा विद्युत खपत गर्न सकिने कम्पनीले जनाएको छ ।