फागुन १७ । दर्शकको थेगीनसक्नु भीड । सबैको प्रतिक्षाको एकोहोरो नजर सांगीतिक कार्यक्रमको स्टेजमा छ । लामो पखाईपछि बल्ल पालो आयो प्रमोद खरेलको । स्टेजमा आएर गायक खरेलले सबैतिर फर्केर हात जोडेर ‘नमस्ते’ गरे । स्टेजभन्दामाथि होटलको छतमा बसेर हेरिरहेका दर्शकलाई नमस्ते गरे । स्टेजबाट सामन्नेमा रहेका घरको बार्दलीबाट हेरिरहेका दर्शकलाई नमस्ते गरे । ‘केटालाई मात्र हैन, केटीलाई पनि नमस्ते’ भन्दै खरेल हँस्यौली पारामा स्टेजमा उत्रिएपछि दर्शकमा हाँसोको फोहरा छुट्यो ।
खोटाङ सदरमुकाम दिक्तेलस्थित माउण्ट एभरेष्ट इंलिस बोर्डिङ हाइस्कुलको प्राङ्गण शनिबार स्थानीय तथा राष्ट्रिय स्तरका गायक गायीकाहरुको स्वरले दिनभर गुञ्जयमान बन्यो । माउण्ट एभरेष्ट इंलिस बोर्डिङ हाइस्कुलको रजत जयन्तीको अवशरमा आयोजना गरिएको सांगीतिक कार्यक्रममा उपस्थित गायक खरेलले जिल्लाका श्रोता अगाडि प्रत्यक्ष उभिएर निरन्तर एक घण्टा बढि समय गाए, दर्शक नचाए । ‘उसले जती मायाँ तिमलाई मैले पनि दिन्थेँ होला’ बोलको गीतबाट आफ्नो सांगीतिक परिकार पस्किन सुरु गरेका गायक खरेलले ‘म बीना कसै–कसैलाई मुस्किल छ पोखरामा’, ‘हंगामा भो हंगामा भो’, ‘लागी लागी मेरो चोखो जोवन तिम्रै लागि’, ‘डुबायो पापी मायाँले’, ‘छुट्टिएर तिमीसँग’ लगायतका गीत गाएका थिए ।
|
दिक्तेलमा आयोजना गरिएको सांगीतिक कार्यक्रममा प्रस्तुती दिँदै गायीका रजिना रिमाल । |
गायक खरेलले अधिकांश गीतको अन्तरामा दर्शकतर्फ माइक्रोफोन तेस्र्याएर हौस्याए । दर्शक पनि के कम । रमाइलो गर्दै मौकाको फाइदा उठाए । प्रमोदसँगै गीत गाए । भीडमा थेलमेल गर्दै असिनपसिन हुँदै नाचेर साथ थिए । दर्शकको साथले उत्साहित खरेल एक पटक स्टेजबाट ओर्लेर दर्शककै अगाडि पुगेर गाए ।
दर्शक नचाउन स्टेजमा जोसिएका खरेलले साउण्ड सिस्टममा आएको समस्यका कारण दुई÷तीन पटक धोका पाए । ‘प्राबिधिक समस्यमा क्षमा चान्छु,’ गाउँदागाउँदै बीचमा रोकिनु परेका खरेलले भने, ‘यहाँका नेताहरुले दिक्तेल आउने सडक पिच बनाए भने अर्कोपल्ट आफै साउण्डसिस्टम लिएर आउँला ।’ उनले प्रस्तुतीकैक्रममा दर्शक दिर्घामा नाचिरहेका एक बालकलाई स्टेजमै तानेर सँगै गीत गाए । गीत गाउनेक्रममा दर्शकमाझ पुग्दा र गाउँदा–गाउँदै बालकलाई स्टेजमा तान्नेक्रममा दर्शक थप उत्साहित बनेका थिए । प्रस्तुतीकाक्रममा महेश खड्का, शान्तिराम राई लगायतका खोटाङका संगीतकारहरुको नाम लिएका गायक खरेलले ‘मेरो दिल छ पोखराको सट्टा मेरो दिल छ दिक्तेलैमा’ भन्दै गाएपछि दर्शक झनै मच्चिएका थिए ।
गीत गाउनुभन्दा अघि नै दर्शकलाई ‘वार्म अप’ गराएका प्रमोदले सुरुदेखि अन्तिमसम्म दर्शकको साथ पाए, ‘वाही–वाही’ पाए ।
कार्यक्रममा गायीका रजिना रिमालले पनि दर्शकको उत्तिकै साथ पाइन् । उनले ‘पानीको फोकाजस्तै’, ‘तिमीसँग ज्यूने मर्ने चाहना छ मेरो’ र ‘जुनको ज्योती ल्याएर दिन्छु पनि भन्न सक्दिन म’ बोलका गीतमार्फत दर्शकलाई नचाइन् । यस्तै, आशिष ताम्राकार, कुमार बिवाहितले पनि श्रोता तथा दर्शकको नाच्ने भोक मेटाइदिए ।
|
दिक्तेलमा आयोजना गरिएको सांगीतिक कार्यक्रममा प्रस्तुती दिँदै गायक प्रमोद |