बैशाख–१०, जन्तेढुङ्गा जिल्लाको दक्षिणी गाविस चिसापानी–७ तथा दिप्लुङ–४ र ६ को सिमानामा अवस्थित छ । समुन्द्री सतहदेखि करिब एक हजार पाँच सय मिटरमा रहेको उक्त ठाउँमा सुर्यदेव राजा र भानुमती रानीको जन्ती अलप भएको किम्बदन्ती छ । ढुङ्गामा जन्ती तथा रथको आकृति स्पष्ट देख्न सकिन्छ । हरेक वर्षको बैशाखे र मंसिरे पूर्णीमाको दिन उक्त ठाउँमा ठूलो मेला लाग्छ । मेलाको दिन ढुङ्गाको फेदमा रहेको सिद्धको थपनामा किरात राईहरुले पूजाआजा गर्छन् ।
पूजामा अन्नबाली सप्रियोस, सुखशान्ति मिलोस्, रोगब्याधी नलागोस आदि कामना गरिने पूजारी नीरबहादुर राईले बताउनुभयो । मेलामा चिसापानी, सिम्पानी, मौवाबोटे, साउनेचउर, डम्बर्खुशिवालय, फाक्टाङ लगायत दक्षिणी क्षेत्रमा पर्ने सबै गाविस तथा छिमेकी जिल्ला भोजपुर, उदयपुर, सुनसरी लगायतका स्थानीय सहभागी हुन्छन् । पछिल्लो समय जन्तेढुङ्गा भएर भोजपुर र उदयपुरबाट सिधा सडक सञ्जाल जोडिएकाले आन्तरिक तथा बाह्य पर्यटक समेत आउन थालेको स्थानीयको भनाइ छ ।
धार्मीक तथा पर्यटकीयस्थल जन्तेढुङ्गा देशकै धरोहर भएकाले यसको विकास तथा प्रवद्र्धनका काममा आफू लागीपरेको खोटाङ क्षेत्र नम्बर–२ बाट निर्वाचित सभाषद् विशाल भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके जिल्लाका लागि मात्र नभइ देशकै आर्थिक उन्नति हुनेछ, त्यसैले यसको विकासमा हामी सबै लागी पर्नुपर्छ ।”
जन्तेढुङ्गा विकासका लागि पर्यटन मन्त्रालयबाट यस वर्ष दश लाखको योजना परेको जन्तेढुङ्गा संरक्षण समितिका अध्यक्ष धनबहादुर राईले बताउनुभयो । उक्त रकमले यस वर्ष मन्दिर, सिँढी र छेवैमा रहेको पोखरी मर्मत काम गरिने राईको भनाइ छ ।
जन्तेढुङ्गा पर्यटन विकासका लागि पञ्चवर्षे योजना परेकाले आगामी दिनमा भ्युटावर, कटेज लगायतका भौतिक पूर्वाधार विकास गरिने समितिले जनाएको छ । उक्त ठाउँ उदयपुरको धाप्लाङ् र बुँवाजोरघाट तथा भोजपुरको वासिङ्थर्पु हुँदै आउन सकिन्छ । फराकिलो डाँडामाथि सेताम्मे देखिने जन्तेढुङ्गामाथि सिद्ध पाइलाहरु देखिन्छन् । बैशाखे र मंशिरे पूर्णीमा अगाडि अर्थात पूजाआजा गर्ने समयमा उक्त ढुङ्गामा बाजा बजेको आवाज सुनिने स्थानीयको भनाइ छ ।
जन्तेढुङ्गा जाने बाटाको पूर्वमा होङ्मापोखरी, पश्चिममा बाराहापोखरी, उत्तरबाहिनी भानुमती तथा उत्तरमा भानुमती दोभान पर्दछ । जन्तेढुङ्गाको नजिकै पश्चिमतर्फ पोखरी छ । उक्त पोखरी विक्रम संम्बत् १९१५–१९२५ को अवधिमा स्थानीय ईन्द्रदल राईले निर्माण गरेको जानकारहरु बताउँछन् ।