भदौ–२७, खोटाङमा मोति जयन्ती तथा सातौं लघुकथा दिवसको अवसरमा साहित्यिक जमघट गरिएको छ । लघुकथा समाज खोटाङको आयोजनामा जिल्लाका अग्रज तथा नबपुस्ताका साहित्यिक श्रष्टाहरुबीच जमघट गरिएको हो ।
साहित्यकार रामबिक्रम थापाको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको साहित्यिक जमघट कार्यक्रममा सिर्जना ‘सुन्ने सुनाउने’ गर्नुका साथै साहित्यिक छलफल तथा अन्र्तक्रियात्मक कार्यक्रम राखिएकोथियो । कार्यक्रममा गजलकार शरण खत्री‘मृदुल’, कबि तेजना सैंजु, गजलकार चित्र सुबेदी, लघुकथाकार श्रीराम राई, एलबी चाम्लिङलगायतले आफ्ना सिर्जना सुनाएका थिए ।

नेपालमा गजल लेखनको शुरुवात गर्ने आदि गजलकार मोतिराम भट्टलाई सम्झँदै बर्षैपिच्छे मनाईने मोति जयन्तीको अवसरमा गाउँ तथा सदरमुकाममा बसोबास गर्ने श्रष्टाहरुको रचना प्रस्तुत गरिएको थियो । जिल्लामा लामो समयपछि आयोजना गरिएको साहित्यिक कार्यक्रममा कबि टीका श्रेष्ठ, टंक कटुवाल, अकेला यात्री, रामधन बेदना, सबिता भुजेल, प्रेमिला राई, अमर प्यासीको सिर्जनाहरु प्रस्तुत गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा बाल श्रष्टाहरुको पनि सहभागिता रहेको थियो ।