खोटाङ, असोज ५,  बिरामीको चाप एक्कासी बढेपछि जिल्ला अस्पताल खोटाङमा शैया अभाव भएको छ । प्राणघातक स्क्रव टाइफस, झाडापखाला, निमोनिया, टाईफाईड, पिसाब पोल्ने, रुघाखोकी लगायतका बिरामीको चाप बढेपछि अस्पतालमा शैया अभाव भएको हो । 

१५ शैयाको जिल्ला अस्पतालमा बिरामीको अधिक चाप बढेपछि दैनिक १५ देखि २० जना बिरामीलाई भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता भएको जिल्ला जनस्वास्थ्य कार्यालय खोटाङका प्रमुख चिकित्सक माधवप्रसाद लम्सालले बताए । ‘दैनिक ९० देखि १०० जनाको हाराहारीमा बिरामी आउँछन् ।’ उनले भने, ‘शैया अभावमा जटिल किसिमका बिरामीलाई मात्र बेड भर्ना गरेर राखिएको छ ।’
बिरामीको चाप अत्यधिक बढेपछि कुरुवा बस्ने ठाँउमा समेत बिरामी राखेर उपचार गर्ने व्यवस्था मिलाइएको लम्सालले जानकारी दिए । चिसो मौषमका समयमा भुइँमा राखेर उपचार गर्दा बिरामीको स्वास्थ्यमा थप समस्या देखा परेको लम्सालको भनाइ छ । 

२०४८ सालमा स्थापना भएको अस्पतालमा शैंया अभाव भएपछि कतिपय बिरामीहरु नजिकको होटल तथा आफन्तको कोठाबाट धाएर उपचार गराउन बाध्य छन् । कोठाबाट धाएर उपचार गराइरहेका बिरामीलाई निरन्तरको वर्षाले झनै समस्या बनाएको बिरामीका आफन्तहरुले बताएका छन् ।

अस्पतालमा अहिले ३० जना बिरामी बेड भर्ना भएर उपचार गराइरहेको अस्पताल स्रोतले जनाएको छ । हप्ता दिनदेखि बिरामीको चाप बढेको अस्पतालमा अहिले सात जना बिरामीलाई भुइँमा राखेर उपचार गरिरहिएको लम्सालले जानकारी दिए । 

अस्पतालमा शैया थप्ने बारेमा मन्त्री परिषद्बाट निर्णय पारित भइसकेको खोटाङ क्षेत्र नम्बर २ बाट निर्वाचित सभाषद् विशाल भट्टराईले बताए । ‘५० शैयाको अस्पताल बनाउने विषयमा मन्त्री परिषद्बाट निर्णय पारित भइसकेको छ ।’ उनले भने, ‘अब चाँडै नै टेण्डर आह्वान गरेर कामको थालनी हुन्छ ।’

यसैबीच, लगातारको तराई बन्दका कारण जिल्ला अस्पताल खोटाङमा औषधिसमेत अभाव भएको जनाइएको छ । अस्पतालमा औषधि अभाव भएपछि कतिपय बिरामी चर्को मुल्य तिरेर निजी क्लिनिकबाट औषधि ल्याएर प्रयोग गर्न बाध्य बनेका छन् ।