ओजोन वावु आचार्य, दिक्तेल खोटाङ
    
    मग बाहिर सादा रङ्गमा क्रिसमस ट्रि का बिभिन्न स्वरुपहरु गाढा रङ्गले पोतिएका छन् । निश्चित एउटा प्वाल छ मगमा । माथिपट्टिको त्यो प्वालबाट कफिको बास्ना सँगसँगै तातो बाफ उडिरहेछ । यो मेरो डमेस्टिक सयन कक्ष हो । डिसेम्बर महिनाको अन्त्यतिर क्रिसमस ट्रि ( X- Mas Tree)ले वरिपरि पोतिएको Large Size को मगमा बत्तिस दाँत र एक जिब्रो लगायतलाई साक्षि राखि मेरो डोमेस्टिक मुखबाट स्ट्रङ कफिलाई पेटमा खन्याइरहेको छु ।
(–०.५) को चस्माले आँखा छोपेर ति पूराना दिनहरुलाई हेर्दैछु । कालो उनीको टोपी भित्रको मेरो टाउको प्लस दिमागमा रिल घुमेझैँ घुमिरहेको छन् अतितहरु । मैले अतितको ठिक अगाडी कालो छुटाएको हुनुपर्छ । (कालो अतित)
एकछिन है !

वेटर छैन ……???

डिसेम्बरले चिसो बतास ल्यायो, मैले झ्याल बन्द गर्नुपर्छ । झ्याल मतलब सिँगै घर बनाउँदा पूर्व नियोजित पारिएका प्वाल मध्येका जुनियर, जसमा ढकनी लगाइएको हुन्छ र आवश्यकता अनुसार खोल्न र बन्द गर्न मिल्छ । (बन्द गरिदिएँ) । ढिला गर्ने दुस्साहस म बाट भएन । म कफिलाई पिउँदै छु । विस्तारै मग रित्तिँदै छ । मलाई कसैले धुवाँ उडाइरहेको देख्नु हुने छैन । म धुवाँ उडाउन सौखिन छैन । यसमा मेरो आफ्नो मान्यता छ ।यो डमेस्टिक रुम हो क्यारे !
मग रित्तिएको छ ….।
रित्तो मगसँग बसेर म बोर मात्र हुन्छु । मग भर्ने र रिल घुम्ने काम तिब्र गतिमा भयो ।
त्यो साँझ…….।
मलाई यत्ति याद छ…………।

म पल पल स्मरण/याद गर्ने थिएँ । तिमीले तिम्रो तर्फबाट भूतपूर्व लगाइसक्दा पनि म तिमीलाई सिर्फ प्रेमिका भन्न रुचाइरहेको छु । मलाई हाम्रो अन्तीम भेटसँग खुलेर चित्त बुझेको छैन । या भनौँ न चित्तै बुझेको छैन । त्यो गर्मिको मैसमको साँझ हामी सँगै थियौँ । मेरो रोजाइको Cold Coffee पिउन तयार हुन तिमीले धेरै बाहाना बाजी गरेको र मैले कष्ट उठाउनु परेको थियो । त्यसबेला तिमीलाई फकाउने बाहानामा म तिम्रो अनुहारमा एकोहोरिन सक्थेँ । तिमिले स्यान्डल खोलेकी थियौ । तिम्रो खुट्टामा निश्चय नै १० वटै औँला थिए । हुन सक्छ…. नौ या एघार पनि हुन सक्छन् । तर, म गुनासो गरिरहेको छु तिमीले मलाई भुतपूर्व बनाउने पूर्व योजना बताएकी भए ति औँला गन्ने थिएँ ।

हामी ठूलो मानव पुर्खा(डार्विनका अनुसार ढेडु/ बाँदर/बन्कर/मंकी) को प्रतिमावाला प्वाल (उर्फ गेट) बाट छिरेका हौँ । मेरो आचि धुने हात तिम्रो कम्मरमा थियो अनि तिम्रो लिपिस्टिक दल्ने हात मेरो काँधसम्मै थियो । मलाई याद रहनु स्वभाविकै हो । तिमिलाई मन पर्ने क्याजुअल कपल पोज हो यो । कति अनपेक्षित रुपमा वित्छ जीवन/समय/काल…….
कास……….मैले यो दिन आउँछ भन्ने थाहा पाएको भए…….
के अर्थ हुन्छ औँला गन्नुको………?
…. खै……………?
अफसोस ! मलाई त तिम्रो स्यान्डिलको रङ समेत याद भएन ।
दरी ओछ्याइएका छन् भुइँमा त्यसमाथीका चकटीमा तिमी र म छौँ । कफि टेबललाई साक्षि राखेर माथी एउटा पंखा रिँगटा लाग्ने डर नै नभएझैँ घुमिरहेछ र तिमीलाई शंकै छैन त्यो पंखा हाम्रो टाउकोमाथि खस्छ भनेर ।
त्यो क्याफेको Single Room मा हामी छौँ । या भनौँ चिन्तन क्याफेको single room मा Couple छौँ ।

बाहीर चिसो बतास/हावा चलिरहेकै छ, मैले ज्याकेट खप्टिएँ र मफलरले मसिनो घाँटी बेरेर छोपेँ । माथी….माथी…… लेकहरु सेताम्मे फूलेका होलान् हिउँले । ति अन्तर्मुखी पहाडहरु चिसो हिउँ सहिरहेकै होलान् । कस्तो विडम्बना हगी ! चर्को घाम लागे पनि चिसा हिउँहरु परे पनि त्यहि चुचुरो/टाकुरो/पहाड……….।

आँखी झ्यालबाट बाहिरको दृष्यलाई मेरो आँखामाथिको (–०.२५) को सिसाले घरि घरि नियाली रहेको छु । तिम्रा आँखा निर्वस्त्र छन् ।
समय धेरै घर्किसकेछ, तिमिलाई खै सुनाउन पाएँ जुन संसारमा तिमी र म सँगै (–०.२५) ले हेथ्र्यौ, आज एक्लै (–०.५०) ले हेरिरहेको छु ।
तिम्रो कपाल, अनुहारमा म्याच गर्ने कोठि, झलक्क हेर्दा देखिने आकर्षण । आज मेरो गुनासो छ त्यो भेट अन्तिम भएकोमा । त्यस्ता भेटहरु धेरै भए तर अन्तिम नभएका ति भेटहरुसंग मेरो कुनै गुनासो छैन । तिम्रो भुतपूर्व म, तिम्रो कपालको लम्बाई जाँच्न चाहन्थेँ, तिमीले भन्थ्यौ नि ! तिम्रो अनुहारमा थुपै्र कोठिहरु छन् । तिम्रो अनुहारमा नएकोहोरिएको होइन तर हरेक एकोहोराइमा म तिम्रा आँखाको गहिराइ नाप्ने सूरमा रहन्थेँ, तर म तिम्रो अफिसियल अनुहारमा एकोहोरिएर ति कोठिहरु गन्ने थिएँ मलाई भुतपूर्व बनाउने पूर्व योजना बताएकी भए ।

सायद यो भेट अन्तिम नभएको भए म लगायत …. जानकार हुने थियौँ । खैर त्यो सेतो चुरा अझै पनि तिम्रो भुतपूर्व पे्रमी सँग नै छ ।

त्यो बाहिरको गेटको ढेडुको प्रतिमाले सिगरेट पिईरहेको याद छ मलाई । सिगरेट पिउने/कि खाने/वा उडाउने कुरामा म Confuse छु । जे होस त्यस्तै झल्किन्थ्यो । तिम्रो हातमा अक्सर (स्मरण रहोस वायाँ हात) सेतो चुरा बेरिन पाउँथ्यो । त्यो साँझ मैले दुस्साहस गरेँ त्यो सेतो चुरा किन मेरै रोजाइको नहोस……? छिरेँ एक कस्मेटिक पसल र कस्मेटिक पसलकि बार्बाइ डल सँग मागेँ एक थान ह्वाइट कलरमा । Doll ले अड्कल गरि Gift हो ? हन्ड्रेड पर्सेन्ट हो…………। म जवाफित भएँ । लुसुक्क भित्र पसी/अन्तर्धान भई र बेरमै झिलमिल बक्स सहित प्रकट भई । मस्काई हेर्न लायकको थियो, । के उसलाई दिउँ त्यो गिफ्ट……..? नाईँ नाँई यो मेरो प्रेमिकाको लागि हो र मैले पत्तै नपाएको/अपेक्षा नगरेको अन्तिम भेटको चिनो हो…….
. –भनेर भन्न सकिन ।
“सेतो चुरा Gift दिएको अर्थ अर्कै लाग्छ, Please यो सेतो चुरा मलाई नदिनुहोस्….” यो तिमै्र बाणि हो । By the way तिम्रो सुझावले म पानी–पानी/पसिना–पसिना भएँ ।
खै के अर्थ लाग्छ ?
के धोका भन्न मिल्छ…………?
मैले सोध्ने तिमो्र फेटाहरु फगत हाँसिरहन्छन् मानौँ ती फोटाहरुलाई/तिमीलाई केही थाहा छैन । मैले भनेथेँ कुनै दिन, तिम्रा यि तस्विरहरु मसँग बात गर्छन, हाँँस्छन, मलाई एक्लै हुन दिदैनन । यी फोटाहरु साक्षि छन् ।
तर यी फोटाहरु मलाई गलत सावित गरिरहेका छन् । बोलुँलाझैँ तिम्रा तस्विर आज किन अन्जान छन् । तिम्रो मनको र यि तस्वीरको के सम्बन्ध/Relation छ हँ । हिजो मोनालिसा उपमा पाएका तिम्रा यि तस्विरहरु आज भुत/डायन/प्रेत/किचकन्या झैँ लागिरहेका छन……।

बट ! मेरो ब्ल्याक कफिको प्रमिस म धोका भन्दिन । बस ! गुनासो त्यही भेटको जसलाई तिमीले एकलौटी/जबरजस्ती/खुदखुसी ढङ्गले अन्तिम बनायौ ।