काठमाडौं २० भदौं । खोटाङ प्रहरी प्रमुख हुँदा विवादित बनेका तत्कालिन डिएपी (हालका एसपी) विद्यानन्द माझीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषण पाएपछि चर्को आलोचना बढेर गएको छ ।
बलात्कारीलाई जोगाएको समेत आरोप बेहोरेका उनले प्रवल जनसेवाश्री विभूषण पाएका थिए । राज्यलाई महत्वपूर्ण योगदान पुर्याए बापत प्रदान गरिने यस्ता पदक विवादित छविका एपी माझीले पाएपछि सामाजिक सञ्जालमा चर्को रुपमा आक्रोश चुलिएको छ ।
नयाँ पत्रिका दैनिकका अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी प्रमुखका रुपमा कार्यरत रहँदा आर्थिक चलखेलका आधारमा बलात्कार गर्ने समूहसँग मिलेर उनले पीडितलाई मिलापत्र गर्न दबाब दिएका थिए । गृह मन्त्रालयले निलम्बन गरी उनलाई विभागीय कारबाही समेत गरेको थियो ।
खोटाङ प्रहरी प्रमुख रहँदा समेत उनले ७३ वर्षिया एक वृद्धामाथि बोक्सीको आरोपमा मरणाशान्न हुने गरी कुटपिट गरेको मुद्धाको विषयमा दोषीलाई कम सजाय दिलाउने उद्देश्यले बोक्सी सम्बन्धी कसुर छलेर सार्वजनिक अपराध शिर्षकमा मुद्धा चलाएर कमजोर बनाएका थिए । पीडितले न्याय नपाएको भन्दै गुनासो गरेपछि मानव अधिकार आयोगले घटनाको छानबिन गर्दै उनको बढुवा रोक्न सरकारलाई दबाब दिएको थियो । केही महिनासम्म उनको बढुवा समेत रोकिएको थियो ।
मानव अधिकार आयोगले बोक्सी सम्बन्धी उक्त घटनाको किनारा लगाउन अझैं बाँकी छ ।