नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सत्ता बाहिर हुँदा एमसिसी पास गर्नै नहुने अडानमा थिए । जब माओवादीसँगको पार्टी एकीकरणपछि उनी प्रधानमन्त्री बने उनले संसदमा नै भने, ‘एमसिसी पढ्दै नपढी विरोध गर्दै हिडेका छन्, यो पास गर्नुपर्छ ।’ अहिले तिनै ओली सत्ताबाहिर पुगेपछि एमसिसीबारे मुख नै खोलेका छैनन् । ‘सत्ता गठबन्धनसँग बहुमत छ, उसैले गरे भइगयो नि ।’ उनी भन्दै हिडेका छन् ।

एमालेको पोजिशन यस्तो छ कि, उसले विपक्षमा मतदान गर्ने भन्यो भने एमसिसी फेल हुनेछ, किनकी माओवादी केन्द्र र समाजवादीले विपक्षमा मतदान गर्ने घोषणा गरिसकेका छन् । पक्षमा मतदान गर्छु भन्यो भने, अहिले एमसिसी पास हुनेछ किनकी कांग्रेस र एमाले मिले आवश्यक भन्दा धेरै ठूलो संख्या जुट्नेछ ।

तर, एमाले न पक्ष भनेको छ न विपक्ष । सर्वसाधरणदेखि राजनीतिज्ञसम्मले एमालेको अडानलाई ‘लिङ्ग नछुट्टिएको भनेर टिप्पणी गर्ने गरेका छन् ।
एक किसिमले हेर्ने हो भने अहिले एमसिसीको विषय टुंगोमा पुग्न नसक्नु मुख्य कारक एमाले पनि देखिएको छ । प्रमुख राजनीतिक दलले निहित स्वार्थका लागि मौन बस्नु देश र जनताप्रति नै अपमान हुने विश्लेषकहरु बताउँछन् ।

के चाहन्छ एमाले ?

एमाले अध्यक्ष ओली एमसिसी पास गर्नुपर्छ भन्ने लाइनमा देखिन्छन् । तर, पार्टीभित्र चुनावको मुखमा पास गर्न नहुने ठूलो दबाब उनीमाथि छ । एक विश्लेषक भन्छन्, ‘एमाले एमसिसी पास गर्ने पक्षमा छ, तर सत्तागठबन्धन भत्काएर र सभामुखलाई समेत पाखा लगाएर पास गर्नुपर्ने उसले दाउ पर्खेर बसेको छ ।’

हुन पनि एमालेले एमाले विभाजित भएर बनेको नेकपा समाजवादी पार्टीका १४ सांसदलाई कारबाही गर्नुपर्ने र सभामुख हट्नुपर्ने जस्ता माग राखिरहेको छ । एमाले संसद अवरोध गरिरहने र एमसिसीमा बोल्दै नबोलेर चुनावमा आफूहरुले एमसिसीको विरोध गरेको देखाउँदै राष्ट्रवादी नारा लगाउने दाउमा छ ।

यता, माओवादी केन्द्रले सरकारले जबरजस्ती एमसिसी पास गरे विपक्षमा मतदान गर्ने र सरकारबाट बाहिरिने निर्णय समेत गरिसकेको छ । ‘माओवादी केन्द्र सरकारबाट बाहिरिए सभामुखलाई समेत हटाउने शर्तमा सरकारलाई समर्थन गर्ने र एमसिसी टेबल गर्न सघाउने तर पक्ष विपक्षमा मतदान नगरीकनै बाहिरिएर एमसिसी पास गराउने एमालेको दाउ देखिन्छ ।’ ती विश्लेषक भन्छन् ‘। त्यसाे गर्दा एमसिसीलाई पास गर्न दिने तर आफूहरुको समर्थन नभएको जस्तै देखाएर जनतामा राष्ट्रवादी हामी हौं भनेर देखाउनेमा एमाले छ ।’ -हेलाेखबर डटकमबाट