सदरमुकाम र दक्षिणी क्षेत्रलाई जोड्ने भनिएको एकमात्र सडक हाल मर्मत अभावमा बेकम्मा बनेको स्थानीयवासीको गुनासो
खोटाङ, पुस । निर्माण पूरा भएको तीन वर्ष बित्दासमेत खोटाङको दिक्तेल–खोटाङबजार हरित सडक उपयोगविहीन बनेको छ । बेलायती सरकारको सहयोगमा ग्रामीण पहुँच कार्यक्रम (र्याप)ले ११ वर्ष लगाएर २०६९ असारमा निर्माण सम्पन्न गरेको ७४ किलोमिटर लामो हरित सडक हालसम्म पनि उपयोगविहीन बनेको हो ।
र्यापले करिब रु ३६ करोड ३२ लाखको लागतमा वातावरणमैत्री प्रविधि अपनाएर निर्माण गरेको उक्त सडक सञ्चालनमा ल्याउन उत्तिकै खर्च लाग्ने अवस्थामा पुगेको छ ।
सदरमुकाम र दक्षिणी क्षेत्रलाई जोड्ने भनिएको एकमात्र सडक हाल मर्मत अभावमा बेकम्मा बनेको स्थानीयवासीको गुनासो छ । दिक्तेलको अल्छेढुङ्गाबाट दक्षिणी क्षेत्रको खोटाङबजार जोड्ने सडक सञ्चालनमा आएमा क्षेत्र नं–२ अन्तर्गत पर्ने तीन दर्जनभन्दा बढी गाविसका स्थानीयवासी लाभान्वित हुनेछन् ।
हरित सडक नाम दिइएको दिक्तेल–खोटाङबजार सडक दक्षिणी गाविस बडकादियालेस्थित थामखर्क विमानस्थललाई छुवाएर निर्माण गरिएको छ । गत असार–१९ गते तावा खोलामा आएको बाढीले सडकको झन्डै ११० मिटर सडकखण्ड बगाएको छ ।
खोटाङबजारदेखि स–छितापोखरीको पञ्चमी, ओख्रेडाँडागाउँ खण्डमा ट्र्याक्टर चल्ने गरेको छ । सो सडकबाट अहिले मोटरसाइकल मात्र कठिनका साथ दिक्तेल–खोटाङबजारसम्म सञ्चालन हुँदै आएको छ ।
¥यापले निर्माणका काम सकेर गएपछि पुनःमर्मतको संयुक्त जिम्मा लिएको जिविस र स्विस विकास सहयोग (एसडिसी)को ढिलाइका कारण सडक उपयोगविहीन बनेको खोटाङ क्षेत्र नं २ बाट निर्वाचित सांसद विशाल भट्टराई बताउनुहुन्छ । “सडक पुनःमर्मत गरेर चाँडो सञ्चालनमा ल्याउनुपर्ने अवस्था आएको छ ।” उहाँले भन्नुभयो – “यसका लागि जिविस र एसडिसीसँग समन्वय गरिरहेको छु ।”
सडक मर्मतका लागि स्थानीय उपभोक्ता समिति गठनमा विवाद आएकाले तत्काल मर्मतका काम सुरु गर्नमा ढिलाइ भएको जिल्ला प्राविधिक कार्यालय, खोटाङका प्रमुख इन्जिनियर राजु श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार प्राविधिक कार्यालय तथा स्थानीय सडक सुधार कार्यक्रम (एलआरआइपी)को संयुक्त लगानीमा काम गर्ने तयारीमा छ ।