खोटाङ, माघ–१२, नेपाल मगर संघ खोटाङको अध्यक्षमा पुनः जुद्धबहादुर पुलामी चयन हुनुभएको छ । संघको टेम्मामा सोमबार सम्पन्न दोश्रो जिल्ला अधिवेशनले पुलामीलाई सर्वसहमतीले अध्यक्षमा चयन गरेको हो ।
संघको उपाध्यक्षमा गन्धमान थापामगर, सचिवमा भक्तबहादुर थापामगर, सहसचिवमा राजन थापामगर र कोषाध्यक्षमा पुण्यकुमारी थापामगर चयन हुनुभएको छ । “सम्पूर्ण मगरहरु एकताका साथ जागौँ, मगर भाषा, धर्म, संस्कार, सँस्कृति संरक्षण र सम्वद्र्धन गरौँ, संगठन र समृद्धितर्फ दोश्रो जिल्ला अधिवेशन सफल पारौँ” भन्ने नाराका साथ सम्पन्न दोश्रो जिल्ला अधिवेशनले २५ सदस्य समिति चयन गरेको छ । 
खोटाङको टेम्मामा आयोजित नेपाल मगर संघ खोटाङको दोश्रो जिल्ला अधिवेशन संयुक्तरुपमा पानसमा बत्ती बालेर उत्घाटन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि तथा संघका केन्द्रीय उपाध्यक्ष बालसिं काउसा मगर र विशिष्ट अतिथि तथा सांसद पाँचकर्ण राई । साथमा संघका जिल्ला अध्यक्ष जुद्ध पुलामीमगर ।

कृष्ण उच्च मावि टेम्मामा सम्पन्न जिल्ला अधिवेशनले “सहि नीति सहि नेतृत्व, मगर संघलाई अगाडी बढाउन हामी सबैको कर्तव्य र उत्तरदायित्व” भन्ने संकल्प प्रस्ताबसमेत पारित गरेको छ । यस्तै, जिल्लाका दुबै निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन गरेर संघलाई मजबुध बनाउँदै लैजाने लगायत महत्वपूर्ण निर्णयहरु पारित गरेको छ । 

संघको टेम्मा गाउँ कार्यसमितिले आयोजना गरेको दोश्रो जिल्ला अधिवेशन प्रमुख अतिथि संघका केन्द्रीय उपाध्यक्ष बालसिं काउछामगर र विशिष्ट अतिथिका रुपमा खोटाङ क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद् पाँचकर्ण राईले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा सदस्य तथा सगरमा ईन्चार्ज सीता रानामगर र केन्द्रीय सदस्य चुना थापामगर, आदिवासी जनजाति जिल्ला समन्वय समिति खोटाङका अध्यक्ष जसराज किराती, राजनीतिक दल,  जातीय संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, संघको भातृ संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । अधिवेशनमा मगर जातिको साँस्कृतिक नाच हुर्रा, कौडा लगायत विभिन्न झाँकीसमेत प्रस्तुत गरिएको थियो ।