खोटाङ असोज–२०,
सरकारले सुख्खा क्षेत्र घोषणा गरेको खोटाङस्थित हलेसी क्षेत्रका उपभोक्ताका लागि लक्षित गर्दै शुरु गरिएकोे बृहत हलेसी खानेपानी आयोजनाको सम्झौता म्याद गुज्रेको दुई बर्ष बितिसकेको छ । २०७६ पुस १७ गतेसम्म काम पूरा गर्ने सर्तमा २०७४ असार २१ गते सम्झौता भएको आयोजनाको काम अझै सञ्चालनमा आएको छैन ।

तर, योजना अन्तिम चरणमा पुगेकाले अव चाँडै घरघरमा पानीको धारा आईपुग्ने आशा स्थानीयमा बढेको छ । विविध कारण निर्माण कम्पनीले काममा ढिलाई गरेको भए पनि हाल धमाधम काम भईरहेको भन्दै स्थानीयमा भरोसा पलाएको हो । हलेसी तुवाचुङ नगरपालिकामा दुधकोसीको पानी निकाल्नका लागि बृहत पम्पिङ आयोजना सुरु गरिएको थियो ।

पछिल्लो समय कामले तीब्रता लिए पनि पुनः कोरोना महामारी, बाढी–पहिरो जस्ता अवरोध सिर्जना भएकाले काम सम्पन्न हुन नसकेको पाईएको स्थानीय सयन्द्र राईले जनाउनुभयो । नगरपालिकाका सूचना केन्द्र अधिकृत समेत रहनुभएको राईको अनुसार मुख्य कामहरु सकिसकेकाले अव चाँडै आयोजना सञ्चालनमा आउने अपेक्षा स्थानीयको रहेको छ ।

करिब ९२ करोडको लागतमा दैनिक ६ लाख लिटर पानी लिफ्ट गर्ने तयारी गरिएको मेयर इवन राइले जनाउनुभयो । आयोजनाको मुख्य जिम्मा आर्थात मेनलाईन पाइप विछ्याउने काम कम्पनी दिवा–महादेव खिम्ती जेभीले लिएको हो । आयोजनामा मेनलाईन पाईप बिछ्याउने लगायतको काम सम्पन्न भईसकेको छ । सोचेँ जति र अपेक्षा गरे अनुरुप प्रगति नभएको भए पनि हाल फिल्डमा काम भईरहेको मेयर राईको भनाई छ । गत बैशाखमा नै आयोजनाका करिव ७० प्रतिशत काम सम्पन्न भईसकेको जनाईएको थियो ।

आयोजना अन्तर्गत वितरण लाईनतर्फको काम भने लामा कन्ट्रक्सन जेभी र रमण–सगरमाथा घिमिरे जेभीले लिएका छन् ।
दुधकोसीको पानीलाई भुम्जुडाँडा र काभ्रेडाँडामा निकालेर नगरपालिकाका ७ वडाका कम्तीमा ३ हजार ७ सय ५६ घरधुरीलाई बितरण गर्ने लक्ष्यका साथ बृहत पम्पिङ खानेपानी आयोजनाको काम अघि बढाइएको हो । सुक्खाग्रस्त क्षेत्रका ७ वडामा नदीको पानी तान्न वा वर्षाको पानी संकलन गर्नुको बिकल्प छैन ।

बाहुनीडाँडाको लुलीमाबाट एक हजार ३ सय ४ मिटर उचाईमा रहेको भुम्जुडाँडामा निकालिने मेनलाईनको पानीलाई बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार र बडहरेका उपभोक्ताको घर–घरमा वितरण गरिने छ । यस्तै, सल्लेको महादेवबेँसीबाट १ हजार ३ स ३५ मिटर उचाईमा रहेको काभ्रेडाँडामा निकालिने पानीलाई हलेसी, दुर्छिम र मंगलटारमा वितरणको तयारी छ ।

काभ्रेडाँडा र भुम्जुमा ४/४ लाख लिटर क्षमताको ट्यांकीमा पानी संकलन गरेर गाउँमा वितरण गरिने उपभोक्ता समितिले जनाएको छ । पानीको श्रोत नभएको तथा जनसंख्य बृद्धिका कारण भएका श्रोतले अपुग हुन थालेकोले हलेसी क्षेत्रलाई जिल्ला दैबीप्रकोप उद्धार समितिले २०६८ सालमा सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

काममा ढिलासुस्ती भएको भन्दै नगरपालिकाका सरोकारवालाहरुले खानेपानी मन्त्री बिणा मगरको ध्यानाकर्षण समेत गराएका थिए ।।