खोटाङ, १० चैत्र । ट्रकले किचेर खोटाङमा एक बालकको घटनास्थलमै ज्यान गएको छ । दिक्तेलबाट जयरामतर्फ गइरहेको ना ३ ख ७७४८ नम्बरको ट्रकले किचेर अर्खौले–८ का १४ वर्षीय संगम राईको ज्यान गएको हो ।

अर्खौलेबजारमा पर्ने सरस्वति उच्च माविको कक्षा ६ मा अध्ययनरत राईलाई परीक्षा दिएर घर फर्कनेक्रममा बुधबार दिउसो ट्रकले किचेको प्रत्यक्षदर्शीले बताएका छन् । साँघुरो र धुलाम्मे सडकमा ब्रेक फेल हुँदा दुर्घटना भएको अनुमान गरिएको छ ।

ट्रकको पछाडिको चक्काले किच्दा बालकको घटनास्थलमै ज्यान प्रत्यक्षदर्शीले जनाएका छन् । मृतक बालकको शव क्षतविच्छेद अवस्थामा रहेको जनाइएको छ ।

घटनालगत्तै चालक र ट्रकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो । घटनाबारे अनुसन्धान गर्न सदरमुकाम दिक्तेलस्थित कार्यालयबाट प्रहरी टोली पठाइएको माझीको भनाइ छ ।

ट्रकले किचेर बालकको ज्यान गएपछि आफन्त र स्थानीयवासीले सडक अवरुद्ध पारेका छन् । मृतक परिवारलाई उचित क्षतिपूर्ती तथा दोषीलाई कडा कारबाहीको माग गर्दै सडक अवरुद्ध पारेका हुन् ।

मृतकका आफन्त र स्थानीयवासीले सडक अवरुद्ध गरेपछि दर्जनौं सवारी साधन अलपत्र परेका छन् । मध्य पहाडि लोकमार्गमा पर्ने अर्खौलेमा सडक अवरुद्ध भएपछि राजधानी काठमाडौं लगायत तराईका विभिन्न ठाउँ जाने तथा ती ठाउँहरुबाट आउने यात्रु तथा सवारी साधन बीच बाटैमा अलपत्र परेका हुन् ।